नेपाल स्रष्टा समाजबाट दुई वरिष्ठ साहित्यकारहरू सम्मानित

काठमाडौँ । नेपाली साहित्यमा लामो समयदेखि अथक योगदान पु¥याइरहनुभएका दुईजना वरिष्ठ साधकहरूलाई नेपाल स्रष्टा समाजले शुक्रवार एक विशेष कार्यक्रमका साथ सम्मान गरेको छ । सम्मानित हुनुहुनेहरूमा कवि श्रीहरि फुयाँल र हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेल हुनुहुन्छ । उहाँहरू दुबैजना झण्डै पाँच दशकदेखि नेपाली साहित्य सिर्जनामा संलग्न हुनुहुन्छ ।

कवि फुयाँललाई ‘सुभद्रा–विश्वराज स्रष्टा सम्मान’ अर्पण गरिएको हो । सम्मानित व्यक्तित्वलाई विशेष सम्मानपत्रका साथ नगदराशि २१ हजार १११ रुपैयाँ प्रदान गरिएको थियो । यस पुरस्कारका संस्थापक नेपाल स्रष्टा समाजका निवर्तमान अध्यक्ष तथा सल्लाहकार विधान आचार्य हुनुहुन्छ । विगत पाँच वर्षदेखि योे सम्मान हरेक वर्ष नियमितरूपमा प्रदान गरिँदै आएको छ ।

त्यस्तै, हास्यव्यङ्ग्यकार लुइँटेललाई ‘रमेश–गङ्गा स्रष्टा सम्मान’बाट सम्मानित गरिएको छ । यस सम्मानमा पनि समाजले विशेष सम्मानपत्रका साथ नगदराशि २१ हजार १११ रुपैयाँ प्रदान गर्ने गरेको छ । विगत तीन वर्षदेखि वार्षिकरूपमा प्रदान गरिँदै आएको यस सम्मानको संस्थापन वागमती प्रदेशका वर्तमान सांसद तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष माननीय डा. दिनेशचन्द्र देवकोटा तथा उहाँको परिवारले गरेको हो ।

सम्मान अर्पण समारोहका प्रमुख अतिथि ९० वर्षीय वरिष्ठ स्रष्टा रमेशचन्द्र देवकोटा हुनुहुन्थ्यो भने विशेष अतिथिको रूपमा डा. दिनेशचन्द्र देवकोटा, विधान आचार्य तथा सल्लाहकार वरिष्ठ कवि शैलेन्द्र साकार हुनुहुन्थ्यो । नेपाल स्रष्टा समाजका उपाध्यक्ष चेतनाथ कणेल ‘हरित’को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा साहित्यकार मधु पाठकले गर्नुभएको थियो भने समाजका महासचिव देविकानन्द तिमिल्सिनाले सहभागीहरूलाई स्वागत गर्दै सम्मानित दुबै स्रष्टाको विस्तृत परिचय गराउनुभएको थियो ।

कार्यक्रमकै अवसरमा नेपाल स्रष्टा समाजका नयाँ आजीवन विशिष्ट सदस्यद्वय स्नेह सायमी र तेजप्रसाद तिम्सिनालाई समाजका उपाध्यक्ष हरित, महासचिव तिमिल्सिना तथा कोषाध्यक्ष तारा सुवेदीले संयुक्तरूपमा सदस्यताको प्रमाणपत्र तथा समाजको लोगो (ब्याज) प्रदान गर्दै हार्दिक बधाई ज्ञापन तथा स्वागत गर्नुभएको थियो ।

सम्मान कार्यक्रमलगत्तै प्रमुख अतिथि रमेशचन्द्र देवकोटाज्यूको ९०औँ वर्ष प्रवेश (शुभ जन्मदिन) को उपलक्ष्यमा उहाँलाई दीप प्रज्ज्वलनका साथ सामूहिक सम्मान, शुभकामना तथा बधाई ज्ञापन गरिएको थियो । देवकोटा परिवारको विशेष संयोजनमा सम्पन्न उक्त कार्यक्रममा करिब १२५ जना साहित्यकार तथा आफन्तजनको उपस्थिति थियो । कार्यक्रमको समापन सहभोजका साथ भएको थियो । काठमाडौँ महाराजगञ्जस्थित ‘रोयल दरवार रेस्ट्रो एन्ड भेन्यु’मा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

स्मरणीय छ, नेपाल स्रष्टा समाज २०६४ सालमा काठमाडौँमा स्थापित राष्ट्रिय साहित्यिक संस्था हो । हाल यस संस्थामा देशभर छरिएर रहेका तथा केही विदेशमा समेत गरी करिब २५० जना नेपाली साहित्यकारहरू सदस्य रहेका छन् । संस्थाले विविध साहित्यिक गतिविधिका साथ वार्षिकरूपमा विभिन्न विधा र शीर्षकमा ७ वटा पुरस्कारसमेत व्यवस्थापन गर्दै आएको छ । यस संस्थाले हालसम्म विविध विधाका ३ दर्जन पुस्तक प्रकाशन गरिसकेको छ । संस्थाले आउँदा दिनमा यसका गतिविधिहरूलाई थप विस्तार गर्ने, थप प्रभावकारी बनाउने र सदस्य संख्या अझ बढाउने सोच बनाएको कुरा अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले बताउनुभएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *