सरकारबाट बाहिरिने एमालेको निर्णय

काठमाडाैं । नेकपा (एमाले) सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ।

सोमबार बसेको सचिवालय बैठकले सर्वसम्मत रूपमा सरकारबाट बाहिरिने निर्णय गरेको उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बताए। बैठकपछि पौडेलले भने, “सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेका छौं।”

प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेबारे सार्वजनिक रूपमा टीकाटिप्पणी गरेपछि सरकारमा बसिरहन उचित नहुने निष्कर्ष निकालिएको उनले बताए। “सरकार छाड्ने या स्वेच्छाले सरकार नछाडे हटाउने वा एमालेका मन्त्रीलाई विना विभागीय बनाउने अभिव्यक्ति दिएपछि, एमाले र एमालेको सहभागिताबारे सार्वजनिक रूपमा टिप्पणी गर्नुभएपछि यो सरकारमा रहिरहन उचित हुने देखेनौं,” उपप्रधानमन्त्री एवं अर्थमन्त्री समेत रहेका पौडेलले भने, “यही विश्लेषणका साथमा आजको सचिवालय बैठकले सरकारबाट अलग हुने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ।

गत पुस १० गतेको सहमति विपरीत प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई सघाउने निर्णय गर्दा पनि वर्तमान राजनीतिक अवस्थालाई हेरेर सरकारका विषयमा हतारमा निर्णय नगरिएको उनको भनाइ थियो। तर, प्रधानमन्त्री दाहालले एमाले र एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूसँग राम्रो व्यवहार नगरेको पौडेलको भनाइ थियो। उनले अन्तिम समयमा परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोक्नुलाई उदाहरणका रूपमा प्रस्तुत गरे।

प्रदेश सरकारका विषयमा भने एमालेले कुनै निर्णय गरेको छैन। प्रदेश सरकारका विषयमा सोधिएको प्रश्नको जवाफमा उपाध्यक्ष पौडेलले भने, “हामीले अहिले गरेको निर्णय संघीय सरकारको सन्दर्भमा हो।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *