बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

आज ४१ औँ मगर एकता दिवस, केही पालिकामा सार्वजनिक विदा
काठमाडौं । मगर समुदायले आज ४१ औं मगर संघ स्थापना एवम् मगर एकता दिवस मनाउँदैछन् । दिवसको अवसरमा मगर बाहुल्य केही पालिकाहरुले सार्वजनिक विदा दिएका छन् ।
२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगर समुदायले यस दिन मगर एकता दिवसको रुपमा मनाउँदै आएका छन् ।
मगर समुदायले फागुन १५ गते सार्वजनिक विदा दिनुपर्ने, नेपालका प्रथम शहीद भनिने लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् । तर आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको मागलाई सरकारले सधैं बेवास्ता गरेको उनीहरुको गुनासो छ ।
तर केही पालिकाहरुले भने फागुन १५ गते सार्वजनिक विदा दिने निर्णय गरेका छन् । नवलपुरका ८ वटै पालिकाले सार्वजनिक बिदा दिएका छन् । गुल्मी जिल्लाका चन्द्रकोट, कालीगण्डकी र सत्यवती गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका हुन् ।
यसैगरी मगर समुदायको बाक्लो उपस्थिति रहेको तनहुँको म्याग्दे गाउँपालिका र पाल्पाको तानसेन नगरपालिका, रैनादेवी छहरा गाउँपालिकाले पनि आज सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।