गाडी चालकमा यूएई र कतार जान रोक

काठमाडाैं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा मोटरसाइकल र ट्याक्सी चालक पदका लागि यूएई र कतारमा जान रोक लगाएको छ।

विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको छ। यूएई र कतारमा यी पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति रोक्ने निर्णय गरेको हो।

पछिल्लो समय मोटरसाइकल र ट्याक्सी चालक पदमा जाने श्रमिकले स्वीकृति मागपत्र बमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताए। भुसालका अनुसार, सहज रूपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय कामविहीन भई बस्नुपरिरहेको छ।

त्यस्तै, अधिकांश श्रमिकले धेरै पटक ट्राफिक कारबाहीमा परी ठूलो जरिवाना बुझाउनुपरेको गुनासो आएकाले छ। सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासन सम्बन्धी ज्ञान र अनुभवको कमीले गर्दा दुर्घटना बढेकाले विभागले यो निर्णय लिएको उनको भनाइ छ।

यूएई र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदमा श्रमिक पठाउनु सुरक्षित नदेखिएपछि विभागले पूर्व स्वीकृति रोक्ने निर्णय लिएको भुसालको भनाइ छ। अर्को निर्णय नभएसम्म यो नियम कार्यान्वयनमा रहने विभागले जनाएको छ।

यससँगै विभागले चालक पदको मागपत्र प्रमाणीकरण नगर्न कतार र यूएईस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *