सालनालसहित फेला परेकी बालिका पाल्न हजारौँ मानिस इच्छुक

पश्चिमोत्तर सिरियामा सोमवार विनाशकारी भूकम्पपछि भत्किएको एउटा भवनको भग्नावशेषमुनि जन्मिएकी एक बालिकालाई धर्मपुत्रीका रूपमा पालनपोषण गर्न हजारौँ मानिस अघि सरेका छन्।

जेन्देअरिस सहरमा उद्धारकर्मीहरूले उनलाई फेला पार्दा ती नवजात शिशुको नाभी उनको आमाको शरीरमा गाँसिएकै अवस्थामा थियो। उनका आमा, बुबा र चार दाजुहरूको मृत्यु भयो।

ती बालिकाको नाम अया’ राखिएको छ। त्यसको अर्थ अरबी भाषामा ‘चमत्कार’ हुन्छ।

जन्मिनेबित्तिकै ठूलो वियोग खप्न बाध्य ती शिशु अहिले अस्पतालमा छिन्।

“उनी सोमवार यस्तो नराम्रो अवस्थामा आइपुगेकी थिइन् कि उनीलाई चोटपटक लागेको थियो, घाउहरू थिए। उनको शरीर चिसो थियो र उनलाई सास फेर्न गाह्रो भइरहेको थियो,” बालरोग विशेषज्ञ हानी मारुफले भने।

अहिले उनको अवस्था स्थिर छ।

उद्धारको भिडिओ भाइरल

अयाको उद्धारको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडिओमा एक व्यक्ति हातमा धुलोमा लतपत नवजात शिशु बोकेर भग्नावशेषमाथि कुदिरहेको देखिन्छ।

उनको नाम खलिल अल-सुवादी हो। उनी ती बालिकाका टाढाका नातेदार हुन्।

घरको भग्नावशेषमा ती बालिकालाई जीवितै उद्धार गरिँदा उनी त्यहाँ उपस्थित थिए।

उनले नै ती बालिकालाई अफ्रिनस्थित डा. मारुफ कार्यरत अस्पतालमा लगेका हुन्।

सामाजिक सञ्जालमा हजारौँ मानिसले उनको पालनपोषण गर्ने इच्छा व्यक्त गर्दै ती बालिकाको विवरण मागेका छन्।

“म उनलाई पाल्न चाहन्छु र उनलाई उपयुक्त जीवन दिन चाहन्छु,” एक व्यक्तिले भने।

डाक्टरकी श्रीमतीले गराउँछिन् स्तनपान

एक कुवेती टेलिभिजन प्रस्तोताले भने, “कानुनी प्रक्रियाले मलाई अनुमति दिन्छ भने म यी बालिकाको हेरचाह गर्न र उनलाई धर्मपुत्री बनाउन तयार छु।”

अस्पतालका प्रबन्धक खालिद अत्तियाले अयालाई पाल्न चाहने संसारभरिका कैयौँ मानिसले आफूलाई फोन गरेको बताएका छन्।

डा. अत्तियाले भने, “अहिले म कसैलाई पनि उनलाई धर्मपुत्री बनाउन दिनेछैन। उनका टाढाका नातेदारहरू नआएसम्म म उनलाई आफ्नै छोरीलाई जस्तै व्यवहार गर्छु।” उनकी छोरी ती बालिकाभन्दा चार महिना जेठी छिन्।

अहिलेको लागि उनकी श्रीमतीले उनलाई आफ्नै छोरीसँगै स्तनपान गराइरहेकी छिन्।

अयाको गृहनगर जेन्देअरिसमा मानिसहरूले भत्किएका भवनहरूमा अझै पनि आफ्ना प्रियजनहरूको खोजी गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *