घार्जी र काम्लोको व्यापार गर्न रिडी गण्डकी

सिर्जना कार्की
रुकुम(पूर्व) । रिडी गण्डकी मेला तीन जिल्लाको सङ्गम स्थलमा लाग्छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गम स्थलमा लाग्ने रिडी मेलालाई माघी मेला पनि भनिन्छ । रिडी गण्डकी मेला १८ मगरात र १२ मगरातको सिमाना रिडीमा परापूर्वकालदेखि नै लाग्दै आएको महत्त्वपूर्ण मेलाका रूपमा चिनिन्छ । री र डी को पनि आफ्नै अर्थ छ । अठार मगरातले पानीलाई रि भन्ने गर्छन् भने १२ मगरातले पानीलाई डी भन्दछ । यही री र डी को सम्मिश्रण नै रिडी हो भन्छन् जानकारहरू ।

यही रिडी गण्डकी मेला रुकुम(पूर्व) का मानिसको लागि व्यापार गर्ने उपयुक्त ठाउँ रहँदै आएको छ । विशेषगरी जिल्लाको भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका नागरिकहरू आफूले उत्पादन गरेका वस्तुहरू लिएर बिक्री गर्न र मेला मान्ने उद्देश्यका साथ रिडी गण्डकीको यात्रा एक दुई साताअघि देखि नै तय गर्ने गर्दछन् ।

यस वर्ष पनि माघी नजिकिँदै जाँदा रिडी गण्डकी मेला मान्न जानेहरू बाटोमा भेटिने गरेका छन् । यहाँबाट मेला मान्न भनेर हिँडे पनि उनीहरूको मुख्य उद्देश्य भनेको आफूले निर्माण गरेको राडीपाखी कारोबार गर्नु हो । पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको विभिन्न क्षेत्रबाट आठ–दश जनाको समूह बनाई मेलामा राडीपाखी कारोबारका लागि मानिसहरू हिँडिसकेका छन् । अहिले पुथाउत्तरगङ्गाको घुम्लिबाङ, तुपा, दमचन, तकसेरा, कोल, गर्खानी, हुकाम र भूमेको लुकुम, मोराबाङलगायतका ठाउँबाट रिडी गण्डकीका लागि समूह बनाएर मानिस हिँडिसकेको घुम्लिबाङका विकास बुढामगरले जानकारी दिनुभयो ।

उनीहरूले राडीपाखीसँगसँगै ओखरको घार्जी पनि बिक्री वितरणका लागि लगेका छन् । रिडी गण्डकी मेलामा राडीपाखी र ओखरको घार्जीको कारोबार राम्रो हुने भएकाले पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाका मानिसले यसै मेलालाई लक्ष्य गरी भेडाको ऊनबाट निर्मित सामग्री तयार पार्नुका साथै ओखरको घार्जी निकालेर राख्ने गरेको उहाँले बताउनुभयो ।

भूमे गाउँपालिका–२ काँक्रीका बाघ दल बुढा आफूले निर्माण गरेको दर्जन बढी भेडाको ऊनबाट निर्मित सामग्री बोकेर रिडी गण्डकीको मेला प्रस्थान गर्नुभएको छ । पुथा उत्तरगङ्गा गाउँपालिकाका रामप्रसाद बुढाले १२ राडीपाखी बोकेर हिँड्नुभएको छ । तकसेराकी सिर्जना बुढामगरले नौ पाथी ओखरको घार्जी बोकेर रिडी गण्डकीका लागि निक्लनुभएको छ ।

सबै मेला मान्नेसँगसँगै आफूले निर्माण तथा उत्पादन गरेका विभिन्न सामग्री खपत हुने भएकाले पनि सामान बोकेर रिडी गण्डकी हिँड्ने धेरै पहिलेदेखिको परम्परा अहिलेसम्म चलिरहेको छ । भेडाको ऊनबाट निर्माण गरिएको प्रतिकाम्लोको मूल्य रु दुई हजारदेखि पाँच हजारसम्म पर्ने गर्छ भने बक्खुको मुख्य रु २० देखि २५ हजार पर्ने गरेको बाघदल बुढाले बताउनुभयो ।

माघको १ गतेदेखि सुरु हुने रिडी गण्डकी मेला ४–५ गतेसम्म चल्ने गर्छ । हप्ता दिन बढी लगाएर बाटोमा सामान बिक्री गर्दै र बचेको सामानलाई मेलामा गएर बिक्री गर्दै आउने उहाँको भनाइ छ । उहाँका अनुसार यहाँबाट नौ/दश जनाको धेरै समूह बनाएर गइन्छ । खाना पकाउने भाँडाकुँडा, चामल, दाल, पिठो सबै चाहिने सामग्री बोकेर जाने र बाटोमै खाना पकाएर खाने तथा जहाँ रात पर्छ त्यहीँ बास बस्दै एक हप्तापछि रिडी गण्डकीको मेलामा पुग्ने गरेको उहाँको भनाइ छ ।

मानिस पुथा उत्तरगङ्गाको दमचन, तुपा, टाटु, ढोरपाटन, तरामटी, फलेघर हुँदै बुर्तीबाङ पुगेर त्यहाँबाट गाडीमा चढेर मेला पुग्छन् । अहिले यहाँबाट मेला मान्ने र सामान बिक्री गर्ने उद्देश्यले हिँडेका सबै आफूले बेचेको सामानबाट आएको पैसाले आफू र घरपरिवारका लागि किनमेल गरेर आगामी माघको ८–९ गते मात्र घर फर्कने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *