च्याउ र स्याउले फेरिँदै गुर्जाली

ध्रुवसागर शर्मा
गलेश्वर । म्याग्दीको सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा पछिल्लो समय पर्यटन र जडीबुटीमार्फत देशविदेशमा परिचित हुन थालेको छ । केही वर्षअघिसम्म ‘जीवित मानव सङ्ग्रहालय’ भनेर व्यङ्ग्य गरिने गुर्जा अहिले भने प्राकृतिक स्रोत, जडीबुटी अनि इटालियन गोल्डेन स्याउका कारण चर्चामा छ ।

यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवा र अन्य जडीबुटी मात्रै होइन गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यावसायिक खेतीसमेत सुरु गरिएपछि अहिले गुर्जाको परिचय फेरिएको हो । आजभोलि देशभित्र र विदेशमा समेत गुर्जा गाउँलाई ‘हर्बल हब’ भन्न थालिएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार गुर्जामा इटालियन जातको उच्च घनत्वको स्याउका बिरुवा काठमाडाँैदेखि लगेर रोपिएको छ ।

कृषि ज्ञानकेन्द्र म्याग्दीको ५० प्रतिशत र धवलागिरि गाउँपालिकाको ७५ प्रतिशत अनुदान सहयोगमा गुर्जाका २५ किसानले इटालियन जातको स्याउका आठ सय बिरुवा लगाएका हुन् । गुर्जामा सुरु गरिएको स्याउको व्यावसायिक खेती जिल्लाकै पहिलो हो । राम्रो फल नदिएपछि गुर्जावासीले पुरानो स्याउको बगैँचालाई मासेर विदेशबाट आयातित उच्च घनत्वको हाइब्रिड जातको स्याउ लगाएका हुन् ।

गुर्जा गाउँबाट ढोरपाटन, गुर्जा, पुथा र चुरेन हिमालको बेस क्याम्पको एउटै पदमार्गबाट रुकुम निक्लने यार्सा पदमार्ग पर्दछ  । बेस क्याम्पबाटै डोल्पा, गुर्जाबाट धौलागिरि बेस क्याम्प पुग्न सकिने भएकाले ‘एडभेञ्चर ट्रेल हब’ का रुपमा पनि परिचित हुन थालेको वडाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।

गुर्जा गाउँ म्याग्दीका अल्पसङ्ख्यक छन्त्याल जातिको बसोबास रहेको गाउँ हो । गुर्जा, चुरेन र पुथा हिमालको फेदीमा रहेको गुर्जा गाउँबाट सबैभन्दा नजिकको मानव बस्तीमा पुग्न कम्तीमा आठ घण्टा पैदलयात्रा गर्नुपर्ने हुन्छ । पर्यटक गुर्जा हुँदै ढोरपाटन, गुर्जा हिमाल, पुठा हिमाल र चुरेन हिमालका आधार शिविर क्षेत्रको भ्रमणमा जाने गर्दछन् । गुर्जा गाउँ पर्यटकलाई मन पर्ने गाउँमा पर्दछ ।

गुर्जा गाउँमा दुई सय ५८ घरपरिवारले बसोबास गर्दछन् । गुर्जा गाउँ छन्त्याल जीवन, सभ्यता र संस्कृति चिहाउन सकिने आँखीझ्याल पनि भएको म्याग्दीका पर्यटन अभियानकर्मी राजेश शाक्यले बताउनुभयो ।

उहाँका अनुसार परम्परागत शैलीका घर, मौलिक कला, संस्कृति अनि सरल र मिजासिला अल्पसङ्ख्यक छन्त्याल समुदायको जीवनशैलीलाई बुझ्न र रमाउन गुजार्मा आन्तरिक तथा बाह्य पर्यटक जान थालेका छन् ।

गुर्जाबाट दलसिङ्गे खर्क, भुजुङ्गेखर्क, गुर्जा बेसक्याम, चुरेन बेसक्याम्प, पुथा बेसक्याम्प हुँदै रुकुमको टकसेरासम्मको पदमार्ग पर्दछ । यो रुटमा यार्सागुम्बा पाइने मुख्य क्षेत्र पर्ने भएकाले पदमार्गको नाम यार्सा ट्रेल राखिएको छ । गुर्जा गाउँ समुद्र सतहबाट तीन हजार दुई सय २० मिटर उचाइमा रहेको छ । गुर्जा गाउँ हिउँदका चार महिना बाक्लो हिउँले ढाकिन्छ ।

गुर्जागाउँ पुग्न म्याग्दीको लुलाङ, मुदी गाउँ र बागलुङको ढोरपाटन क्षेत्रबाट गरी जम्मा तीन वटा बाटो रहेका छन् । यी सबै बाटोमध्ये जुनबाट यात्रा गरे पनि जङ्गलको बाटो यात्रा गर्नुपर्दछ । गुर्जा गाउँ पुगेपछि पर्यटक ढोरपाटन पुग्ने गर्दछन् । ढोरपाटनमा सिकार आरक्ष रहेको छ । धौलागिरि हिमशृङ्खलाको सेरोफेरोमा यो आरक्षले प्रत्येक वर्ष हजारौँ पर्यटकलाई आकर्षण गराएको छ ।

बाँझो जमिनमा जडीबुटी खेती

जडीबुटीबाट मनग्ये आम्दानी हुन थालेपछि गुर्जाको बाँझो जमिनमा स्थानीयवासीले जडीबुटी खेती गर्न थालेका छन् । खाली तथा बाँझो रहेको सार्वजनिक जग्गामा एक सहकारीले अतिस जातको जडीबुटी लगाएको हो । गुर्जामा सञ्चालित हिमाली कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध किसानले अतिसको व्यावसायिक खेती सुरु गरेका हुन् । खाली तथा पाखो जमिनका रुपमा रहेको सार्वजनिक जग्गामा सामुदायिक वनसँगको सहमतिमा सहकारीमा आबद्ध किसानले जडीबुटीको खेती सुरु गरेका वडाध्यक्ष छन्त्यालले बताउनुभयो ।

स्थानीय किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने र आयआर्जन बढाएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ सहकारी संस्थामार्फत पहिलो पटक २५ किसानले जडीबुटीको खेती थालेको वडाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।

उहाँले सामुदायिक वन क्षेत्रको साढे दुई हेक्टर क्षेत्रफलको जमिनमा अतिस जातको जडीबुटीको बेर्ना लगाएको बताउनुभयो । अतिसलाई मानिसको पेटभित्र पर्ने जुका मार्न तथा स्वास्थ्यवद्र्धक जडीबुटीका रूपमा मानिन्छ ।

बजारमा अतिस जडीबुटीको माग उच्च रहेकाले गुर्जामा यसको व्यावसायिक खेती थालिएको किसान समूहले जनाएको छ । समुद्री सतहदेखि दुई हजार सात सय मिटरको उचाइमा अवस्थित गुर्जामा बिसजरा, अमलवेद, पदमचाल, कुट्की, सतुवा, खिरौँला, पाखनवेद, बिख्मा, यार्सागुम्बा, पाँचऔँले, लौठेसल्ला, जटामसीलगायत बहुमूल्य जडीबुटी पाइने वडाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । खाली जग्गाको उपयोग गर्ने नीतिअनुसार गुर्जामा अतिसको बेर्ना उत्पादन गरेर खेती विस्तार गरिएको हो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *