माओवादी अध्यक्ष प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ दाहाललाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्। दाहाल तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका छन्।

उनी नेकपा (एमाले) लगायत सात दल र स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री भएका हुन्। उनलाई सात दल र स्वतन्त्र गरी १६९ सांसदको समर्थन रहेको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ सांसद आवश्यक पर्छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर ढकालले विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरेको जनाइएको छ। प्रतिनिधि सभामा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेमा संविधानको धारा ७६ को उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ।

दाहाललाई नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसँगै स्वतन्त्र सांसद प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि समर्थन गरेका छन्। प्रतिनिधि सभामा एमालेका ७८, माओवादीका ३२, स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन्। त्यस्तै, तीन जना स्वतन्त्र सांसदसहित दाहाललाई १६९ जना सांसदको समर्थन पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *