यस कारण एक पटक फेरि प्रधानमन्त्री बन्न चाहन्छन् प्रचण्ड !

काठमाडौं। केही दिन अघिमात्रै ६९ वर्षको जन्मदिन मनाएका माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूसँग अब धेरै समय नरहेकाले एकपटक प्रधानमन्त्री बन्न चाहेको बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनले आफूसँग अब धेरै समय नभएकाले जनताको सहयोग भएमा एकपटक देशको नेतृत्व गर्न तयार रहेको बताएका हुन् ।

पहिलोपटक प्रधानमन्त्री बन्दा आफूलाई बुझ्न समय लागेको तर दोस्रोपटक निकै राम्रो काम गरेको बताउँदै उनले अब तेस्रोपटक प्रधानमन्त्री बन्न पाए धेरै काम गर्ने बताएका छन् ।

प्रचण्डले प्रधानमन्त्रीका लागि निकै चाहना देखाए पनि काँग्रेस सभापति शेरबहादुर देउवाले उनलाई छाड्ने सम्भावना देखिएको छैन् । देउवाले आफू फेरि प्रधानमन्त्री बन्ने गरी तयारी गरिरहेका छन् । देउवा र प्रचण्डमध्ये को प्रधानमन्त्री बन्ने लफडाले वर्तमान सत्ता गठबन्धन भत्किने सम्भावना पनि रहेको छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनले माओवादी र अध्यक्ष प्रचण्डलाई अहिले नै सत्ताको नेतृत्व गर्ने म्यान्डेट दिएको छैन, तै पनि प्रचण्ड देउवालाई पछि पार्दै प्रधानमन्त्री बन्ने खेलमा छन् ।

आफू प्रधानमन्त्री बन्न उनले नेकपा एमालेसँग निकटता बढाउँदै कांग्रेससँगको ‘बार्गेनिङ पावर’ बढाउँदै लगेका छन् । एमालेसँगको निकटता प्रदर्शन गर्न प्रचण्डले मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न महासचिव देव गुरुङलाई बालकोट पठाएका थिए ।

यद्यपि, बधाई तथा शुभकामना दिनुबाहेक राजनीतिक कुराकानी नभएको दाबी महासचिव गुरुङले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *