पुनः मतगणनाको माग गर्दै मन्त्री कार्कीद्वारा निवेदन दर्ता

इनरुवा । सुनसरीको निर्वाचन क्षेत्र नम्बर–४ को मतगणना शनिबार दिउँसोबाट स्थगित भएपछि पुनः गणनाका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दर्ता गराउनुभएको छ ।

मतगणनाको काम सुचारु गर्ने विषयमा दुई पटक सर्वदलीय बैठक बसे पनि सहमति हुन नसक्दा गणना सुरु हुन सकेको छैन । सदरमुकाम इनरुवास्थित भगवती माध्यमिक विद्यालयमा शनिबार साँझ र आइतबार बिहानदेखि मध्यान्हसम्म दुई पटक सर्वदलीय बैठक बसेको थियो ।

सर्वदलीय बैठकमा नेपाली काङ्ग्रेसको तर्फबाट सुनसरी –४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका कानुनमन्त्री समेत रहनुभएका कार्कीले गणना भएको मतपत्रको फेरि गणना गर्नुपर्ने माग गर्नुभयो । नेकपा एमालेका तर्फबाट उम्मेदवार रहनुभएका जगदीशप्रसाद कुसियैतले यथास्थितिमा मतगणना सुचारु गर्नुपर्ने माग गर्नुभएको छ ।

कार्की र कुसियैतसहित विभिन्न राजनीतिक पार्टीका नेताहरू र स्वतन्त्र उम्मेदवारसमेतको सहभागितामा छलफल भए पनि निकास नआएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताउनुभयो ।

शुक्रवार राति निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम सूचीमा एमालेको मत परिणाममा ६०६ मत थप गरी सार्वजनिक गरिएको मन्त्री कार्कीको आरोप छ । काङ्ग्रेसले मत गणनामा खटिएका कर्मचारीले धाँधली गरेको आरोप लगाएको छ ।

सुनसरी क्षेत्र नं. –४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका सञ्चार तथा सूचना प्रविधि एवम् कानुनमन्त्री कार्कीले पुनः मतगणनाको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा आइतबार निवेदन दिनुभएको छ । निवेदन निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पठाउने अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *