काठमाडौं ३ मा एमालेको रणनीति : विपक्षीलाई गाली नगर्ने, असन्तुष्टलाई भव्य स्वागत गर्ने !

काठमाडौं । नेकपा एमालेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर –३ मा विपक्षीलाई ‘कटक’ नगर्ने रणनीति लिएको छ । गोकर्णेश्वरमा आयोजित निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा ३ नम्बर क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं एमाले पोलिटव्यूरो सदस्य कृष्ण बहादुर राईले आफुहरु विपक्षीमाथि जाई लाग्ने भन्दा पनि उनीहरुले आमजनता एवं मतदातामाथि गरेको घात एवं धोकालाई चिर्ने गरी चुनावी नीति तथा कार्यक्रम ल्याउने बताए ।

उनले भने, ‘हामीले विपक्षी उम्मेदवारबारे अनावश्यक टिप्पणी एवं गाली गर्ने कार्य गर्नु भन्दा पनि उनीहरुले पदीय जिम्मेवारीमा रहँदा गरेका बेइमानी र हाल राष्ट्रिय रुपमै जनता र मतदातालाई दिएको धोकाबारे प्रष्ट पार्ने तथा एमालेले राष्ट्रिय रुपमा लिएको संकल्प र काठमाडौं–३ का लागि हामीले बनाएको आर्थिक, सामाजिक क्रान्तिको अवधारणालाई आम मतदातामाझ लैजान सके मात्रै स्वादपर्ने गरीको विजय सुनिश्चित हुन्छ ।’

प्रतिनिधि सभा सदस्य उम्मेदवार राईले आफुहरुका कमिकमजोरीहरु केलाएर चुनावी अभियानलाई सहयोग पुग्ने खालका गतिविधिहरुलाई तीव्र बनाउन काठमाडौं–३ का एमाले नेता कार्यकर्तालाई आग्रह गरे ।

विभिन्न संगठनको जिम्मेवारी लिएका नेता कार्यकर्ताहरुलाई आग्रह गर्दै उनले भने, ‘आज पार्टीले हाम्रो नाममा टिकट दिएको छ । यसो भन्दैमा सबै थोक हामीले नै गर्नु पर्ने र तपाइँहरु चुनावका दिन (मंसिर ४ मा) मात्रै मत खसाल्न बुथमा जाने भन्ने बुझ्यौँ भने हाम्रो भविष्य पनि माओवादी र नेकपा एसका साथीहरुको भन्दा पनि बढी अन्धकार हुने छ । हामीले संसदीय निर्वाचनमा अहिलेसम्म हासिल गरेको विजयको विरासत जोगाउन पनि दुई घण्टा बढी खटिएर अथवा दुई गाँस कम खाएर अहोरात्र हाम्रो पार्टीको संकल्प, नीति, विचार तथा कार्यक्रमहरुलाई आम मतदातामाझ लानु पर्छ । त्यसको नेतृत्वकर्ता तपाइँहरु स्वयं हो । आज पार्टीले हामीलाई अवसर दियो भने यहि अवसर भोलि तपाइँहरुका लागि पनि हो भन्ने सम्झिनुस् । र, भोलि हामी बुढो हड्डी तपाइँहरुका लागि खियाउने छौँ ।’

राईसहित काठमाडौं निर्वाचन क्षेत्र नम्बर –३ (१) का प्रदेश सभा सदस्य उम्मेदवार चन्द्रमान लामा र ३ (२) का प्रदेश सभा सदस्य उम्मेदवार रामेश्वर फुयाँलले अहिलेको सत्ता गठबन्धनलाई गाली गर्नु मुर्खता भएको धारणा राखे ।


काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ (१) का एमाले उम्मेदवार, चन्द्रमान लामा

इमान, नैतिकता एवं पद्दतीको हेक्का हुने राजनीतिक पार्टी एवं समूहलाई मात्र आलोचनाले छुन्छ, उनीहरुले भने, ‘यो सबै लत्याएर ठगि र फट्याँई एवं धोकाधडी गर्नेलाई ‘राम राम’भन्नु बाहेक अन्य विकल्प छैन । विधि र पद्दतीका कुरा गर्न पार्टी पनि पद्दती वा जनभावना अनुरुप चलेको हुनुपर्छ । टाउकाहरु भेला पारेर मात्रै राजनीति वा राज्य सञ्चालन गर्नु मुर्खता मात्रै हो ।’

आलोचना खेप्ने र जनताले गरेका गुनासा तथा सुझावलाई ग्रहण गरेर आफुहरु जनताको बहुदलीय जनवाद स्थापित गर्दै समाजवादको उचाईमा लैजाने जिम्मेवारी पूरा गर्ने बेला आइसकेको र त्यसको छिनोफानो मंसिर ४ ले गर्ने भएका कारण जति गर्नु छ, चुनाव अघि नै गर्नुपर्नेमा तीनै जना उम्मेदवारले जोड दिए ।


काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ (२) का एमाले उम्मेदवार, रामेश्वर फुयाँल

कांग्रेसले घर बासको व्यवस्था गर्ने वातावरण बनाइदेला र हाम्रो घर बस्ला भन्ने झिनो लोभले गठबन्धनमा लागेका माओवादी र नेकपा एसका साथीहरु अहिले विलखबन्दमा परेको प्रशंग कोट्याउँदै प्रतिनिधि सभा सदस्य उम्मेदवार राईले उनीहरुलाई बस्नै नसक्ने घरबारको तिर्खामै बस्ने कि, आफुले रोजेको र खोजेको भुइँ, आकाश तथा वायुको मालिक बन्ने ? भनेर ढाडस दिने बेला आएको बताए ।

उनले त्यसरी प्रताडित भएका एवं कांग्रेसले विलखबन्दमा पारेकाहरु सबैलाई एमालेले भव्य स्वागत गर्ने उनको भनाइ छ ।
विकास निर्माणका सन्दर्भमा एमाले अर्थात् केपी ओली नेतृत्वको सरकारले कसैले सोच्दै नसोचेका कामहरु गरेको जिकिर एमाले उम्मेदवारहरुको छ । ओलीलाई त्यसै ‘बा’ नभनिएको बताउँदै राईले भने, ‘ओलीको पालामा हालसम्म कसैले गर्न नसकेका कामहरु भएका छन् । उदाहरण कै लागि चुच्चे नक्सा नै काफी छ । बाँकी कुरा त धेरै भन्नै परेन ।’

संविधान, ऐन, कानून निर्माण तथा राज्यको पुनःसंरचनाको जिम्मेवारी लगभग पूरा भएको र अब आर्थिक क्रान्तिको पालो आएको, त्यो जिम्मेवारी एमालेले मात्रै बोक्न सक्ने एमाले उम्मेदवारहरुको जिकिर छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *