What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

सत्यमोहनको शवको सट्टा चिनाको दाहसंस्कार
काठमाडाैं । संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीरको सट्टा चिनाको दाहसंस्कार गरिएको छ।
शंखमुलस्थित बागमती घाटमा जोशीको जन्मकुण्डलीको दाहसंस्कार गरिएको हो। उनका छोराद्वय अनुराज जोशी र डा. पूर्णराज जोशीले जन्मकुण्डलीको दाहसंस्कार गरेका हुन्।
जिवित छँदै संस्कृतिविद् जोशीले शरीर दान गरेका थिए। उनको इच्छाअनुसार, आज परिवारजनले पार्थिव शरीर किस्ट अस्पताललाई हस्तान्तरण गरेका थिए।
किस्ट अस्पतालले जोशीको पार्थिव शरीरलाई केमिकलमा सुरक्षित राख्ने भएको छ। विद्यार्थीलाई अध्ययनका लागि सुरक्षित राखिन अस्पतालले जनाएको छ।
संस्कृतिविद् जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो। उनी २४ दिनदेखि किस्ट अस्पतालमा उपचाररत थिए।
आइतबार बिहान उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि किस्ट अस्पताल प्राङ्गणमा राखिएको थियो। त्यसपछि सर्वसाधारणका लागि ललितपुर महानगरपालिकाको प्राङ्गणमा राखिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए। देउवा लगायत नेताहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए। जोशीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सर्वसाधारण पनि ललितपुर महागनर कार्यालय परिसर पुगेका थिए।
त्यसपछि जोशीको पार्थिव शरीर किस्ट अस्पताललाई हस्तान्तरण गरिएको थियो। अस्पताललाई पार्थिव शरीर हस्तान्तरणपछि उनका परिवारजन जन्मकुण्ली बोकेर शंखमुलस्थित बागमती घाट पुगेका हुन्।
साँझ ६ बजेर १४ मिनेटमा जोशीका दुवै छोराले उनको जन्मकुण्डलीको दाहसंस्कार गरेका हुन्। बुवाको इच्छाअनुसार पार्थिव शरीर अस्पताललाई दान गरेर जन्मकुण्डलीको दाहसंस्कार गरेको उनीहरूले बताएका छन्।