गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङमा कोरोना पुष्टि

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार साँझ स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गरिएको -यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि बुधबार गरिएको पीसीआर परीक्षणमा समेत कोरोना संक्रमण पुष्टि भएको हो।

संसदमा अविश्वास प्रस्ताव पेश भएपछि केन्द्रदेखि प्रदेशसम्मका नेताहरुसँग भेटघाटमा व्यस्त भएका बेला मुख्यमन्त्री गुरुङलाई संक्रमण भएको आशंका गरिएको छ ।

​प्रेस संयोजक विक्रम न्यौपानेले आरडिटी पोजेटिभ देखिएपछि गरिएको पीसीआर परिक्षणमा मुख्यमन्त्री गुरुङलाई संक्रमण देखिएको बताए ।

संयोजक न्यौपानेलाई समेत कोरोना संक्रमण देखिएपछि तीन दिनदेखि होम आइसोलेसनमा बसेका छन् । यसअघि मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशसभामा १४ गते गराएको पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । जनमोर्चाका सांसद खिम विक्रम शाही बेपत्ता प्रकरणको गाँठो फुकाउन मंगलबार मुख्यमन्त्री गुरुङ सहित पाँचदलको बैठक बसेको थियो ।

मुख्यमन्त्री गुरुङको पीसीआर रिपार्ट पोजेटिभ आएपछि उनीसँग बैठकमा सहभागी सभामुख नेत्र नाथ अधिकारी, काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल, माओवादीका हरिबहादुर चुमान,राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र जनता समाजवादीका हरिशरण आचार्य समेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

प्रदेशको संसदको बैठक डाक्नका लागि दलहरुबीच छलफल गर्न बसेको सर्वदलीय बैठकमा उनीहरु सहभागि भएका थिए ।
एकदलिय बैठकमा कोरोना संक्रमण बढेकाले जेठका २ गते संसदको बैठक बोलाउन मुख्यमन्त्री गुरुङले धारणा राखेका थिए । तर,अन्य ४ दलका नेताहरुले भने यसै हप्ता टुङ्ग्याउनु पर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *