नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

अधिकृत भएपछि श्रीमानलाई वैदेशिक रोजगारीबाट छुटाएर लोकसेवा पास गराउने गीताकाे अनुभव
गीता आचार्य, शाखा अधिकृत
निजामती सेवालाई समाजको मर्यादित र प्रतिष्ठित पेसाका रूपमा लिइन्छ । तर, बढ्दो आकर्षणका कारण लोकसेवामा चर्को प्रतिस्पर्धा हुन्छ । महिलाको हकमा आरक्षण सुविधा भए पनि लोकसेवा पास गर्नु पहिलेभन्दा निकै चुनौतीपूर्ण हुँदै गएको छ । त्यसैले लोकसेवा पास गर्न अथक मिहिनेत र नियमित अध्ययन जरुरी हुन्छ।
मेरो लोकसेवा यात्रा
स्नातक तहमा व्यवस्थापन संकायको विद्यार्थी भएकाले मेरो सपना बैंकर बन्ने थियो । त्यसैले पनि लोकसेवा पढ्ने सोच मेरो दिमागमा कहिल्यै आएन । स्नातक तह अध्ययनका क्रममा बुबाले किनेर ल्याइदिनुभएको लोकसेवाका किताब धमिराले धुल्याउँदासम्म पनि हेरिनँ । त्यतिवेला लोकसेवा पास हुन सक्छु भन्ने लाग्दैनथ्यो ।
स्नातक तहको अध्ययन सकिनेबित्तिकै मेरो विवाह भयो । विवाहपछि पढाइलाई निरन्तरता दिन गाह्रो हुन्छ भनिन्छ । तर, मेरो हकमा त्यस्तो भएन ।
घरपरिवारबाटै मलाई लोकसेवा पढ्न प्रेरणा मिलेको हो । घरनजिकैको विद्यालयमा निम्नमाध्यमिक तहको अस्थायी शिक्षकबाट राजीनामा दिएर लोकसेवा पढ्न काठमाडौं आएकी थिएँ । ०७० मा काठमाडौं आएर लोकसेवा तयारी थालेँ ।
पहिलो वर्ष समय अभाव र लोकसेवाको शून्य तहबाट सुरु गर्नुपर्ने भएकाले नायब सुब्बाको तयारी गरेँ । ०७१ मा नासु पास गर्न सफल भएँ । र, साबिकको पुनरावेदन अदालत बुटवलमा सिफारिस भएँ । त्यसै वर्ष शाखा अधिकृतको फाराम त भरेँ, तर राम्रो तयारी भएको थिएन । ०७२ सालमा आएर शाखा अधिकृतमा खुलातर्फबाट सिफारिस भएँ ।
नियमित तथा सबै पत्रको सन्तुलित अध्ययनका कारण म नायब सुब्बा र शाखा अधिकृत दुवै परीक्षामा पहिलो सहभागितामा नै सफल भएँ । आफू वैदेशिक रोजगारीमा रहेर मलाई लोकसेवा पढाउने श्रीमान्लाई शाखा अधिकृत भएपछि १० वर्षे वैदेशिक रोजगारीबाट छुटाएर लोकसेवा पढाएँ । उहाँ पनि पास हुनुभयो ।
यसरी पढेँ
व्यक्तिअनुसार अध्ययन शैली फरक–फरक हुन्छ । कसैले घोकेर, लय मिलाएर त कसैले सूत्र बनाएर सम्झने गर्छन् । तर, मेरो अध्ययनशैली अरूको भन्दा बेग्लै छ । मैले घोकेर र सूत्र बनाएर पढ्न कहिल्यै सकिनँ । धेरै समय लगातार पनि पढ्न सक्दिनथेँ ।
पत्रपत्रिकाका लेख तथा बृहत् पुस्तकहरूको अध्ययन गरेर विषयवस्तु बुझ्ने कोसिस गर्थें । तयारी कक्षाका पृष्ठपोषण कक्षाहरूमा सहभागी हुँदा स्वमूल्यांकन गर्ने, आफ्ना प्रतिस्पर्धी चिन्नेलगायतका अवसर मिल्यो । र, त्यहीँबाट आफ्ना कमी–कमजोरी सुधार्न सहज भयो ।
परीक्षामा उत्तर लेख्दा परिमाणभन्दा गुणस्तरलाई मध्यनजर गर्थें । उपयुक्त शब्द चयनलाई ध्यानमा राखेर विषयवस्तुभित्र पसेर उत्तर लेख्ने प्रयास गरेँ । मेरो वस्तुगतभन्दा विषयगत पक्षको तयारी बलियो थियो ।
लामो समय लगातार पढ्न म सक्दिनँ, बीच–बीचमा ‘रिफ्रेसमेन्ट’ चाहिन्छ । लगातार दुई घन्टा पढेँ भने एक घन्टा त मलाई ‘रिफ्रेस’ हुनुपर्छ ।
पढ्दा एउटै विषयवस्तुमा पनि धेरै सामग्रीको अध्ययन गरेर आफ्नो मौलिकतामा छुट्टै निचोड निकाल्थेँ । केही समय भए पनि निमावि तहमा गणित विषय अध्यापन गराएकाले मलाई ‘आइक्यू’मा त्यसले धेरै सघाउ पुग्यो ।
काठमाडौंमा भर्खर आएको र यहाँ धेरै साथी नबनाइसकेकाले मेरो समूह अध्ययन कहिल्यै भएन ।
यसरी नियमित तथा सबै पत्रको सन्तुलित अध्ययनका कारण म नायब सुब्बा र शाखा अधिकृत दुवै परीक्षामा पहिलो सहभागितामा नै सफल भएँ । आफू वैदेशिक रोजगारीमा रहेर मलाई लोकसेवा पढाउने श्रीमान्लाई शाखा अधिकृत भएपछि १० वर्षे वैदेशिक रोजगारीबाट छुटाएर लोकसेवा पढाएँ । उहाँ पनि पास हुनुभयो ।
यसबाट मलाई के लाग्छ भने मिहिनेत गर्यो भने असम्भव केही पनि छैन ।
आफूलाई सहज हुने गरी पढ्नुपर्छ
पढ्ने शैली सबैको फरक–फरक हुने भएकाले आफूलाई कसरी पढ्दा सहज हुन्छ, त्यस्तै शैली अपनाउँदा राम्रो हुन्छ ।
परीक्षा दिएर बाहिर आउँदा साथीहरूका कुरा सुन्दा मलाई पनि लाग्थ्यो कि यिनीहरूले यति धेरै मिलाएका छन्, मेरो त थोरै मिलेको छ, पास हुन गाह्रो छ । तर, यथार्थमा त्यस्तो नहुँदो रहेछ, कसैले अरूलाई हतोत्साहित गराउन पनि यसो भन्ने गर्दछन् । त्यसैले यस्तो बहकाउमा नआएर अध्ययनलाई निरन्तरता दिनुपर्छ ।
विषयगत अध्ययनलाई फराकिलो बनाएर पढ्न सकेमा उत्तर लेख्दा सहज हुन्छ । परीक्षामा सोधिएको प्रश्नले के मागेको छ भन्ने कुरालाई ध्यान दिएर मौलिक तथा तथ्यपरक उत्तर लेख्दा राम्रो हुन्छ ।
अध्ययन गर्दा विषयवस्तुसँग मेल खाने पत्रपत्रिकामा प्रकाशित लेख, आवधिक योजना तथा प्रशासनिक सुधार प्रतिवेदनमा प्रकाशित विषयहरूलाई विषयवस्तुसँग आन्तरिकीकरण गरेर पढ्नु राम्रो हुन्छ ।
पढ्दा अरूको नोट तथा विभिन्न संस्थाका नोट त अरू सबैले लेख्ने हुनाले आफ्नो छुट्टै मौलिक उत्तर लेख्दा पृथक हुन्छ र जाँचकीलाई प्रभाव पार्न सकिन्छ । पढेका विषयलाई निरन्तर रूपमा पुनरावलोकन र समय–समयमा स्वमूल्यांकन गर्नुपर्छ ।