सरकार कोरोना संक्रमितको उपचारबाट भाग्न खोजेपछि जङ्गियाे कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारले कोरोनाभाइरसका संक्रमितहरूको उपचारमा देखाएको असंवेदनशीलताप्रति गम्भीर भएको जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरेर हतास र त्रास फैलाएको भन्दै आपत्ति जनाएका छन् । ‘स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न राज्यले अपील गर्नु स्वभाविक र आवश्यक हो’, शर्माले भने, ‘संकटमा अपील गरिरहँदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुन्छ ।’

‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइसकेको’ सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको कांग्रेसका प्रवक्ता शर्माले भनेका छन् ।

‘पूरै वर्ष दिन सत्ता द्वन्द्वमा बिताउने, संसद विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने ?’, शर्माको प्रश्न छ ।

‘इतिहासकै सबैभन्दा गैह्र जिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलबाडको ब्यवहार हो यो’, कांग्रेसले भनेको छ, ‘यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन सकिन्न ।’

‘नेपाली कांग्रेस लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा कार्य गर्न र कोरोना विरुद्धको संघर्षमा राज्यको क्षमता बिस्तार गर्न सरकारलाई अपील गर्दछ’, कांग्रेसका प्रवक्ता शर्माले भनेका छन् ।

‘बेड, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजनको सिलिन्डर आदिमा सरकारको वास्तविक क्षमता कति हो ?’, शर्माले प्रश्न गर्दै भनेका छन् ।

‘संक्रमणको विस्तार कुन हदसम्म हुन सक्दछ भन्ने विज्ञ अनुमान र विश्लेषण छ ?’, प्रवक्ता शर्माले प्रश्न गर्दै भने, ‘त्यो हद सामना गर्न बेड लगायतको बिस्तारमा सरकारसँग बजेट, पूर्वाधार या इच्छाशक्ति के अभाव छ ?’

‘निजी क्षेत्रका अस्पतालहरूलाई कोरोनाविरुद्धको संघर्षमा वृहत्तर सहकार्यमा कसरी गोलबन्द गर्ने ? राजनैतिक दलहरू, संघसंस्था र समाजसँग सरकारले गरेको सहयोग अपेक्षा के हो ?’, कांग्रेसले प्रश्न गर्दै भनेको छ, ‘फ्रन्टलाईनमा रहेर कार्य गरिरहेका स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न सरकार कसरी प्रस्तुत हुने ?’

‘खोपको पछिल्लो खेप आयातमा अन्तर्राष्ट्रिय पहलकदमी कति तिब्रतर छ ?’, शर्माले प्रश्न गर्दै भने, ‘यी समग्र विषयमा सरकार प्रष्ट, पारदर्शी, योजनाबद्ध र दृढ ढंगले प्रस्तुत हुन जरुरी छ ।’

‘संकटका बेला हरेक नागरिकको अभिभावक राज्य हुन्छ । बेडको अभाव हुन थाल्यो भने अभावको गीत गाएर त्यो अभिभावकत्व पूरा हुन सक्दैन’, कांग्रेसका प्रवक्ता शर्माले भनेका छन् ।

‘कांग्रेस परिस्थितिको गम्भीरता बमोजिम मनस्थितिको गम्भीरता राखेर कार्य गर्न सरकारलाई सजग गराउन चाहन्छ’, शर्माले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *