२० वर्षपछि ६६० जना भन्सार एजेन्टका लागि आवदेन खुल्यो, (सूचनासहित)

काठमाडौँ । सरकारले २० वर्षपछि एकै पटक ६६० जना भन्सार एजेन्टका लागि दरखास्ता आह्वान गरेको छ ।

भन्सार विभागले भन्सार एजेन्टको इजाजत पत्र लिन इच्छुकहरुका लागि दरखास्त खुलाएको हो ।

दुई दशक यता नखुलाएको एजेन्टका लागि यो वर्ष खुलाइएको भन्सार विभागका महानिर्देशक यमलाल भुसालले जनाए । उनका अनुसार व्यापार सहजिकरण गर्दै वैध व्यापार बढाउन यस्तो निर्णय लिइएको हो । विभागका अनुसार २१ वर्ष पुरा भएको नेपाली नागरिकले भन्सार एजेन्टका लागि दरखास्त दिन सक्ने भएका छन् ।

अहिले नेपालमा १ सय ७० हाराहारीमा मात्र भन्सार एजेन्ट रहेका छन् । थप जनशक्ति नहुँदा एजेन्टले प्रतिनिधि खटाएर काम भइरहेको अवस्था थियो ।

भन्सार एजेन्टका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तिर्ण गरी कम्प्युटर सम्बन्धी कम्तिमा ३ महिनाको आधारभूत तालिम लिएको हुनुपर्ने शर्त तोकिएको छ ।

नेपाल सरकारलाई तिर्न बुझाउन पर्ने रकम बाँकि नभएको हुनुपर्नेछ । कुनै फोजदारी अभियोगमा अदालतबाट कसुरदार प्रमाणित नभएको हुनुपर्नेछ । लिखित र अन्तर्वार्ताका माध्यमबाट भन्सार एजेन्टको नियुक्ति गरिने विभागले जनाएको छ ।

३ हजार दरखास्त शुल्कसहित विज्ञापन माग भएको हो । विभागका अनुसार दरखास्त दिने अन्तिम मिति ५ वैशाख र दोब्बर दस्तुर तिरी १२ वैशाखसम्म तोकिएको छ । अनलाइनबाटै दरखास्त दिन सकिने भएको छ ।

त्यस्तै, लिखित परीक्षा तथा अन्तर्वार्ताबाट छनोट भएका व्यक्तिले नतिजा प्रकाशन भएको मितिले ९० दिन भित्र इजाजतपत्र दस्तुरवापत ७ हजार रुपैयाँ र धरौटीवापत ७ लाख रुपैयाँ भन्सार विभागमा बुझाएपछि मात्र विभागले इजाजत पत्र दिने प्रावधान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *