What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

जंगबहादुर राणाले दिएकाे त्यो मुलुकी ऐन
What To Know
- यसमध्ये मुख्य संशोधन १९४५ मा वीरशमशेरले गरे । संशोधनका क्रममा त्यसलाई पाँच भागमा विभाजन गरियो । त्यसमध्ये पहिलो र दोस्रो भाग कार्यविधि ऐन, तेस्रो दिवानी ऐन, चौथो र पाँचौं फौजदारी ऐन हुन् । संशोधनका क्रममा मुलुकी ऐन छाप्ने काम पनि जारी रह्यो । यो चन्द्रशमशेरका पालामा १९८० र १९८४ मा छापिएको थियो । फेरि १९९२ मा जुद्धशमशेरको पालामा छापियो । राणाकालको उत्तराद्र्धतिर २००५ सालमा छापिएको थियो । प्रजातन्त्र आइसकेपछि २००९ र २०१२ मा पनि छापियो । त्यसपछि यो दोहोर्याएर छापिएन ।.
- त्यतिबेला राजा महेन्द्रले बनाएको मुलुकी ऐनमा स्पष्ट लेखिएको छ, ‘१९१० को मुलुकी ऐन अबको समय परिस्थिति ध्यानमा राखेर नयाँ मुलुकी ऐन जारी गरिबक्सेका छौं ।’ त्यसकै अन्त्यमा ‘यसअगाडि जारी मुलुकी ऐन खारेज भयो’ भनेर पनि लेखिएको छ । त्यसैले जंगबहादुरको मुलुकी ऐन १ सय १० वर्षसम्म चल्यो । त्यो २०२० मा खारेज भयो ।.
काठमाडौँ । नयाँ मुलुकी संहिता (ऐन) जारी भएसँगै धेरैले फेरि एकपल्ट पहिलो राणा प्रधानमन्त्री जंगबहादुरलाई सम्झेका छन् । इतिहास भन्छ– जंगबहादुरले नेपाललाई पहिलोपल्ट लिखित कानुन दिए ।
उनले नै विक्रम संवत् १९१० मा मुलुकी ऐन जारी गरेका थिए, जुन नेपालको कानुनको मात्र नभएर समग्र इतिहासकै दृष्टिकोणले पनि ठूलो उपलब्धि थियो । इतिहासकार त्रिरत्न मानन्धर त जंगबहादुरको यो काम पूरा राणा शासनकै एक ठूलो उल्लेखनीय उपलब्धि मान्छन् । अाजकाे कान्तिपुर दैनिकमा समाचार छ ।
‘त्यसअघि नेपालमा लिखित कानुन थिएन । सानोतिनो अदालतबाट आदेशमात्र हुन्थ्यो, लिखित रूपमा । कसैले कसैको ज्यान लिए कस्तो दण्ड दिने भनेर केन्द्रमा सोधिन्थ्यो । जंगबहादुरले त विस्तृत ऐन नै बनाए,’ उनले भने, ‘यसको पूरा श्रेय उनलाई दिनैपर्छ । यो ऐतिहासिक कदम हो । शासकका रूपमा एउटा विधि बनाएर जाने इच्छा पनि भएको हुनुपर्छ ।’
त्यतिबेला सजायमा एकरूपता थिएन । एकै घटनामा फरक ठाउँमा फरक सजाय हुन्थ्यो । यो ऐन आएपछि यसैका आधारमा निर्णय हुन थाल्यो । इतिहासकार मानन्धर भन्छन्, ‘जंगबहादुरको मुलुकी ऐन कति धेरै विस्तृत छ भने सम्भवत: यत्तिको ऐन भविष्यमा पनि कहिल्यै आउनेछैन ।’ यो लगभग ८ सय पेज लामो छ । नेपालको कानुनी इतिहासमा कलम चलाउने पहिलो पुस्ताको इतिहासकारमा पर्छन् मानन्धर । जंगबहादुरको मुलुकी ऐनमै केन्द्रित भएर उनले पुस्तक पनि लेखेका छन् ।
जंगबहादुरले बनाएको यो ऐनलाई पछि गएर श्री ५ सुरेन्द्रको शासनकालमा बनेको मुलुकी ऐन भनेर नाम दिइयो । जुन बेला यो कानुन बन्यो, यसको नाम मुलुकी ऐन थिएन, ऐनमात्र थियो । पछि २००९ को संस्करणपछि मात्र यसलाई मुलुकी ऐन भन्न सुरु भएको हो । यसमा संशोधन भने विभिन्न समयमा भएको पाइन्छ ।
यसमध्ये मुख्य संशोधन १९४५ मा वीरशमशेरले गरे । संशोधनका क्रममा त्यसलाई पाँच भागमा विभाजन गरियो । त्यसमध्ये पहिलो र दोस्रो भाग कार्यविधि ऐन, तेस्रो दिवानी ऐन, चौथो र पाँचौं फौजदारी ऐन हुन् । संशोधनका क्रममा मुलुकी ऐन छाप्ने काम पनि जारी रह्यो । यो चन्द्रशमशेरका पालामा १९८० र १९८४ मा छापिएको थियो । फेरि १९९२ मा जुद्धशमशेरको पालामा छापियो । राणाकालको उत्तराद्र्धतिर २००५ सालमा छापिएको थियो । प्रजातन्त्र आइसकेपछि २००९ र २०१२ मा पनि छापियो । त्यसपछि यो दोहोर्याएर छापिएन ।
कहिले विस्थापित भयो ?
राजा महेन्द्रले २०२० मा नयाँ मुलुकी ऐन जारी गरे, जुन बिहीबारसम्म कायम रह्यो । धेरैले शुक्रबार नयाँ मुलुकी ऐन लागू भएपछि जंगबहादुरको पालाको मुलुकी ऐन १ सय ६५ वर्षपछि विस्थापित भयो भनेका छन् । ‘मेरो दृष्टिकोणमा विस्थापित भयो भन्न मिल्दैन । जंगबहादुरले बनाएको त्यो मुलुकी ऐन त २०२० मै विस्थापित भइसकेको थियो,’ मानन्धरले भने ।
त्यतिबेला राजा महेन्द्रले बनाएको मुलुकी ऐनमा स्पष्ट लेखिएको छ, ‘१९१० को मुलुकी ऐन अबको समय परिस्थिति ध्यानमा राखेर नयाँ मुलुकी ऐन जारी गरिबक्सेका छौं ।’ त्यसकै अन्त्यमा ‘यसअगाडि जारी मुलुकी ऐन खारेज भयो’ भनेर पनि लेखिएको छ । त्यसैले जंगबहादुरको मुलुकी ऐन १ सय १० वर्षसम्म चल्यो । त्यो २०२० मा खारेज भयो ।