नेपालमा काेराेना संक्रमणकाे नयाँ लहर फैलिने खतरा, स्वास्थ्य मन्त्रालयले जारी गर्‍याे १० बुँदे निर्देशन

काठमाडौं । छिमेकी देश भारतमा कोरोना संक्रमण बढ्न थालेपछि नेपालमा पनि जोखिम बढेको भन्दै सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेश, संघीय तथा प्रादेशिक अस्पताल, स्वस्थ्य संस्थाहरु, सबै जिल्लास्थित स्वास्थ्य कार्यालय र सीमा नाकाका हेल्थ डेस्कहरुलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो।

मन्त्रालयले यी सबै निकायलाई कोभिड–१९ को व्यवस्थापनका लागि १० बुँदे निर्णय कार्यान्वयन गर्न पत्राचार गरिसकेको छ। भारतमा कोरोना संक्रमण बढेसँगै नेपाल फर्कनेको संख्या पनि बढेको भन्दै मन्त्रालयले भारतसँग सीमा जोडिएका क्षेत्रमा रहेका हेल्थ डेस्कहरुहरुलाई भारतबाट नेपाल प्रवेश गर्नेहरुको ज्वरो परीक्षण गर्न भनेको छ।

ज्वरो आएका यात्रुहरुको मलेरियाको र्‍यापिड डाइग्‍नोस्टिक टेस्ट (आरडिटी) तथा सम्भव भएसम्म कोभिड–१९ को एन्टिजिन टेस्टको व्यवस्था मिलाउन पत्राचार गरिएको मन्त्रालयले जानकारी दिएको छ। यसरी परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएकाहरुको उपचार व्यवस्थापन स्वास्थ्य संस्था र अस्पतालसँग समन्वय गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मलेरिया तथा कोभिड–१९ को व्यवस्थापनसम्बन्धी निर्देशिकाहरु बमोजिम गर्न पनि निर्देशन दिइएको छ।

स्वास्थ्य मन्त्रालयले एन्टिजिन परीक्षणमा पोजिटिभ आएकाहरुलाई स्थानीय निकाय, अस्पताल, स्वास्थ्य संस्था तथा प्रयोगशालाहरुले आवश्यक सहयोग, समन्वय र सहकार्य गर्न पनि सबै निकायलाई निर्देशन दिएको छ। यस्तै क्‍वारेन्टिन आदेश, २०७७ बमोजिमको व्यवस्था लागू गर्न, सर्भिलेन्सलाई चुस्त बनाउन, केस इन्भेस्टिगेसन र कन्ट्याक ट्रेसिङलाई बढावा दिन, आवश्यक पिसिआर तथा एन्टिजिन टेस्टको सुनिश्‍चितता गर्नसमेत निर्देशन दिएको छ।

मन्त्रालयले सबै अस्पताल र स्वास्थ्य संस्थाहरु महामारी व्यवस्थापनका लागि आवश्यक तयारी अवस्थामा रहनसमेत निर्देशन दिएको छ। यस्तै सबै पालिकाहरुलाई आफ्नो पालिकाहरुमा संक्रमणको उच्च जोखिम क्षेत्र पहिचान गरी समुदायस्तरमा कोभिड-१९ को एन्टिजिन परीक्षण प्रक्रियासम्बन्धी प्रोटोकलअनुसार व्यवस्थापन गर्न समेत भनिएको छ।

यसैगरी, सबै निकायहरुले जनस्वास्थ्यको मापदण्डहरुको कडाइका साथ पालना गराउनका लागि आवश्यक पहल तथा प्रचारप्रसार गर्न पनि भनिएको छ।

भारतमा पछिल्लो २४ घण्टामा ४० हजार ७१५ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै थप १९९ संक्रमितको मृत्यु भएको छ। भारतमा हालसम्म १ करोड १६ लाख ८६ हजार ७९६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। यस्तै, १ लाख ६० हजार १६६ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो केही दिनयता भारतमा संक्रमणको दर बढ्दै गएको छ। मंगलबार बिहानसम्म भारतमा ३ लाख ४५ हजार ३७७ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

हेर्नुहोस् मन्त्रालयका १० बुँदे निर्देशन:

१. सबै प्रवेश विन्दुका हेल्थ डेस्कहरुमा ज्वरो आएका यात्रुहरुको मलेरियाको र्‍यापिड डाइग्‍नोस्टिक टेस्ट तथा सम्भव भएसम्म कोभिड-१९ को एन्टिजिन टेस्टको व्यवस्था मिलाउने।

२. साथै, टेस्ट रिपोर्ट पोजिटिभ आएकाहरुको उपचार व्यवस्थापन स्वास्थ्य संस्था वा अस्पतालसँग समन्वय गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मलेरिया तथा कोभिड-१९ को व्यवस्थापनसम्बन्धी निर्देशिकाहरु बमोजिम गर्ने।

३. यस कार्यका लागि स्थानीय निकाय, अस्पताल, स्वास्थ्य संस्था तथा प्रयोगशालाहरुले आवश्यक सहयोग, समन्वय र सहकार्य गर्ने।

४. क्‍वारेन्टाइन आदेश २०७७ बमोजिमका व्यवस्था लागू गर्ने।

५. रोगको निगरानीलाई चुस्त बनाउने।

६. केस इन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङलाई बढावा दिने।

७. आवश्यक पिसिआर तथा एन्टिजिन टेस्टको सुनिश्‍चितता गर्ने।

८. सबै अस्पताल र स्वास्थ्य संस्थाहरु महामारी व्यवस्थापनका लागि आवश्यक तयारी अवस्थामा रहने।

९. आफ्नो पालिकाहरुमा संक्रमणको उच्च जोखिम क्षेत्र पहिचान गरी समुदायस्तरमा कोभिड-१९ को गरिने एन्टिजिन परीक्षण प्रक्रियासम्बन्धी प्रोटोकलबमोजिम गर्ने।

१०. सबै निकायहरुले जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गराउनका लागि आवश्यक पहल तथा प्रचारप्रसार गर्ने।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *