संवैधानिक परिषद् : गणपूरक सङ्ख्या नपुगेपछि ’गाँठो फुकाउन’ नयाँ अध्यादेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदको काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी अध्यादेश जारी गर्नु भएको छ ।

मङ्गलवार बिहान बोलाइएको बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित हुनुभएको थियो । त्यसपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो ।

प्रधानमन्त्रीको नेतृत्वमा रहेको संवैधानिक परिषद्को बैठक दोस्रो पटक पनि बस्न विफल भएपछि अध्यादेश ल्याउने निणर्यमा सरकार पुगेको बताइन्छ ।

अहिले केही संवैधानिक निकायमा प्रमुख र सदस्यहरूका पद रिक्त छन् । तर बैठकमा गणपूरक सङ्ख्या नपुगेकाले तिनमा नियुक्तिको निणर्य हुन सकेको छैन । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने छन् ।

प्रधानमन्त्री केपी ओलीले पटक-पटक परिषद्को बैठक डाकेपनि गणपुरक संख्या पुर्‍याउन सक्नु भएको छैन ।

संवैधानिक परिषद् बैठक बस्न ५ जना उपस्थित हुनुपर्ने व्यवस्था छ । अहिले उपसभामुख पद रिक्त छ भने सभामुख अग्नि सापकोटा बैठकमा अनुपस्थित रहँदै आउनु भएको छ ।

गणपुरक संख्या पुर्‍याउन नसकेपछि प्रधानमन्त्री ओलीले अध्यादेशबाट बाटो फुकाउनु भएको हो । अध्यादेशमा के छ भन्ने विषय सार्वजनिक भैसकेको छैन ।

राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी भएको हो ।

कतिपयले नेकपाभित्रको विवादको असर परिषद्मा देखिएको र त्यसैकारण पूर्वमाओवादीतर्फका सभामुख सापकोटा सहभागी नभएको अनुमान गरेका छन् ।

अध्यादेश जारी गरिएको प्रति सत्ताधारी दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्ती जनाउनु भएको छ । कुनै छलफल नै नगरि एकलौटी रुपमा अध्यादेश ल्याइएको भन्दै उहाँले प्रधानमन्त्रीले लोकतन्त्रको उपहास गरेको आरोप लगाउनु भएको छ ।

त्यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि सकारको यस कदमको चर्को आलोचन गरेको छ । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *