नेकपा सचिवालय : अध्यक्षको अडानले बैठक अनिश्चित

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्दैछ । दिउँसो बस्ने बैठकमा यसअघि अध्यक्षद्वयले छुट्टा छुट्टै पेश गरेका प्रतिवेदनमाथि छलफल हुने नेताहरुले बताएका छन् ।

एक अर्काप्रति गम्भीर आरोप प्रत्यारोपसहित छुट्टा छुट्टै राजनीतिक प्रस्ताव अघि सारेका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सहमतिको नयाँ विकल्पबारे छलफल नै नगरी तीन दिनअघि स्थगित गरिएको बैठकमा आज छलफल हुन लागेको हो ।

दुवै अध्यक्षका प्रस्तावलाई मिलाएर विवाद समाधानका लागि दोस्रो तहका नेताहरु लागिपरेपनि शीर्ष नेताहरुको अडानका कारण अपेक्षाकृत परीणाम आउन सकेको छैन ।

यही मंसिर १७ गते बसेको सचिवालय बैठकपछि ओली र दाहालबीच औपचारिक संवाद नभएपनि ओलीले आफ्ना सहयोगीमार्फत दाहालसँग छलफल गरीरहनुभएको छ । उहाँले पार्टी एकताको मर्मअनुसार सहमतिमै दुवै अध्यक्षको मत आउनुपर्ने भन्दै दाहाललाई दवाव दिइरहनुभएको छ ।

यता दालल पक्षका नेताहरुले भने बैठकमा दुवै प्रस्ताव पेश भइसकेकाले छलफलबाटै निर्णय गर्नुपर्ने अडान राख्दै आएका छन् । दाहालले प्रधानमन्त्री समस्या समाधानका लागि आफू सच्चिने भए बैठकमै उपस्थित भएर छलफल हुनुपर्ने अडान लिनुभएको छ ।

शनिबार दिउँसो बालुवाटारमा बोलाइएको सचिवालय बैठकको गृहकार्यका लागि अध्यक्ष प्रचण्ड आफ्ना पक्षका नेताहरुसँग विहान गृहकार्यमा गर्नुभएको छ । उहाँले लिखित धारणा बैठकमा पेश गर्ने तयारी गर्नुभएको बुझिएको छ । तर प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सचिवालय बैठक बस्न आवश्यक भए पनि बैठकमा अस्वस्थ प्रतिस्पर्धा रोकिनुपर्ने माग गर्नुभएको छ । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *