आज यमपञ्चकको चौथो दिन, गाईगोरुको पूजा गरिँदै

काठमाडौं । यमपञ्चकअन्तर्गत आज गाईगोरु पूजा गरी मनाइँदै छ । यससँगै हलितिहार तथा गोबलि पूजा पनि यसै दिन मनाइँदै छ ।

गाउँघरमा विशेषतः गोरुको स्याहार–सुसार गर्ने तथा गोरु जोत्नेहरूले हलितिहार भनी मनाउँछन्। कृषकहरूका लागि गोरु विशेष महत्त्व भएका कारण उनीहरूको यस दिन सम्मान गरिन्छ । कसै–कसैले यस दिन हलोलाई पनि पूजा गर्छन् । विशेषतः गाईपूजा औँशीका दिन लक्ष्मीपूजाकै बिहान गरिन्छ ।

यस अवसरमा जनै पूर्णिमाका दिन बाँधेको डोरो गाईको पुच्छरमा बाँधे मृत्युपछि वैतरणी नदी सजिलै तर्न सकिन्छ भन्ने जनविश्वास छ । तर कसै–कसैले हलितिहारकै दिन गोरु र गाई दुबैको पनि पूजा गर्छन् ।

यसै दिन काठमाडौं उपत्यकालगायत देशभर र विदेशमा बस्ने नेवाः समुदायले म्हपूजा गर्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *