भारतीय सेनाध्यक्ष नरवणे काठमाडौँमा

काठमाडौँ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत उनी काठमाडौं आइपुगेका हुन् ।

विमानस्थलमा नरवणेको स्वागतका लागि नेपाली सेनाको दोस्रो वरीयताका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरु पुगेका थिए । विशेष सुरक्षा व्यवस्थाका साथ उनलाई सोल्टी होटलमा लगिएको छ ।

कात्तिक १९ देखि २१ गतेसम्मका लागि तय गरिएको तीन दिवसीय भ्रमण टोलीमा स्थलसेनाध्यक्ष नरवणेसहित चार सदस्यीय टोली छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनाका परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारीबाट कात्तिक २० गते बिहीबार दिउँसो स्थलसेनाध्यक्ष नरवणेलाई विशेष कार्यक्रमका बीच नेपाली सेनाको ‘मानार्थ महारथी सम्मान’ प्रदान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग सेनाध्यक्षको शिष्टाचार भेट कार्यक्रम तय गरिएको छ । त्यसअघि उनले नेपाली सेनाका प्रधानसेनापति थापासँग शिष्टाचार भेटवार्ता र शिवपुरीस्थित कमान्ड तथा स्टाफ कलेजमा अध्ययनरत शिक्षार्थी सैनिक अधिकृतसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

भारत स्वतन्त्र भएसँगै सन् १९५० बाट सुरु भएको नेपाली सेना र भारतीय सेनाबीचको ‘मानार्थ महारथी सम्मान’ आदानप्रदान कार्यक्रम करिब ७० वर्ष अघिदेखि निरन्तर चल्दै आएको छ । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *