राजधानी भालुवाङमा राख्ने प्रस्तावका पक्षमा मतदान गर्ने नेकपाकाे निर्णय

बुटवल । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको बैठकले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा बनाउन प्रदेश सभामा दर्ता भएको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेकोे छ ।

शनिबार बिहान बसेको बैठकले सबै सभासदहरुले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको उक्त पार्टीको संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले बताउनुभयो ।

प्रदेश मन्त्री परिसद्को निर्णय लगत्तै शुक्रबार उक्त प्रस्ताव प्रदेश सभामा दर्ता भएको थियो ।

बैठकमा कतिपय सभासदहरुले असहमतिका धारणाहरु पनि राखेका थिए । प्रमुख सचेतक ढकालका भनाईमा सभासदहरुले खुलेर आआफ्ना धारणा राख्नु भएको थियो । तर अन्तिममा मतदानका बेला प्रदेश सभामा पार्टीका सबै सभासद एक हुने र प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय भएको छ । आबश्यक पर्दा पार्टीले सभासदहरुलाई ह्पि पनि लगाउन सक्ने उहाँले बताउनुभयो ।

बैठक संसदीय दलका नेता एवं मुख्यमन्त्री शंकर पोखरेलको निवास डिभिजन सडक कार्यालय परिसरमा बसेको थियो ।

बैठकमा मुख्यमन्त्री पोखरेलले प्रस्तावका पक्षमा एकमत हुन र मतदान गर्न सभासदहरुलाई निर्देशन दिनुभएको थियो । प्रदेश ५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ६१, बिपक्षी नेपाली कांग्रेसका १९,मधेस केन्द्रित दलका ६,राष्ट्रिय जनमोर्चाका १ सहित ८७ जना सभासदहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *