सरकारले खोल्यो सुपथ मूल्य पसल, हेर्नुस् कुन सामानमा कति छुट

काठमाडौँ । सरकारले आजदेखि दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्यका पसल सञ्चालन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो र डिलर तथा घुम्ती सेवामार्फत सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सुपथ मूल्यका पसलबाट अनलाइन अर्डरमार्फत पनि सामग्री खरिद गर्न सकिने बताएको छ । सुपथ मूल्य पसलका सामग्री काठमाडौं उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गल, थापाथली, नख्खु, प्रयाग पोखरी, जावलाखेल र भक्तपुरका साथै देशभरका ४९ ठाउँमा सञ्चालन हुनेछ ।

यस्तै दुग्ध विकास संस्थानले पनि आफ्ना सबै कार्यालय र बिक्री केन्द्रबाट सुपथ मूल्यमा दुग्धजन्य वस्तुको बिक्री गर्नेछ । सुपथ मूल्यका पसलमा नुन प्रतिकिलो १८ रुपैयाँका दरले खरिद गर्न सकिनेछ । तर प्रति परिवार चार किलोका दरले मात्रै खरिद गर्न पाइनेछ । यस्तै चिनी प्रतिकिलो ७० रुपैयाँमा खरिद गर्न सकिनेछ । प्रति परिवार चार किलोका दर तोकिएको छ ।

सरकारले चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिएको छ । यस्तै खसी,बोका, च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ, दालमा प्रतिकिलो पाँच रुपैयाँ, सिमीमा प्रतिकिलो १० रुपैयाँ, फापरमा प्रतिकिलो पाँच रुपैयाँ र सेतो केराउमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइएको मन्त्रालयले जनाएको छ ।

सुपथ पसल छठ पर्वको भोलिपल्टसम्म सञ्चालन हुनेछ । ०००

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *