बिहानैदेखि कान्तिपुरी नगरीमा चहलपहल

काठमाडौँ । तीन सातादेखिको निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा चलहपहल बढेको छ ।

बिहीबारबाट व्यापार–व्यवसाय खुल्न थालेका छन् भने निजी तथा सार्वजनिक गाडी जोर–बिजोर प्रणालीमा संचालन भएका छन् । उपत्यकाका तीनवटै जिल्लाका प्रशासन प्रमुखको संयुक्त बैठकले हिजो गरेको निर्णय अनुसार बिहान ११ बजेसम्म र बेलुका पाँच देखि ७ बजेसम्म गरी दुई सिफ्टमा खाद्यान्न पसल खुला हुनेछन् ।

खाद्य बस्तु, दूध र दुग्धजन्य पदार्थ, फलफुल, तरकारी, माछा मासु बिक्रीका लागि उक्त सिफ्ट लागु हुनेछ । यसैगरी फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी पसलहरु, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म खोल्न पाइने छ ।

सवारी साधन मर्मत सम्बन्धी वर्कसपहरु बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ । यसैगरी सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसलहरु सोमबार, बुधबार र शनिबार मात्र खुल्न पाउने छन् ।

काठमाडौँ उपत्यका भदौ ३ गतेदेखि निषेधाज्ञा लागु भएको थियो । पछिल्लो पटक परिमार्जित निषेधाज्ञा भदौ ३१ गतेसम्म कायम रहने छ । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *