६८१ जना थपसहित कुल सङ्क्रमित २८ हजार ९३८ पुग्याे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकामा १ सय ५९ जना

थपिएका संक्रमितमा २ सय १६ महिला र ४ सय ६५ पुरुष रहेका छन् । उनीहरुमध्ये काठमाडौं उपत्यकाका १ सय ५९ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १ सय ३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१ सय २० जना डिस्चार्ज

यस्तै पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १ सय २० जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म १७ हजार ७०० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६१ दशमलव प्रतिशत रहेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ११८ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ५२२ जनाको पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म जम्मा ५ लाख ५४ हजार ३८८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

भेन्टिलेटरमा ६ जना

कोरोना संक्रमितको संख्या पाँच सयभन्दा बढी भएका जिल्लाहरु मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् । संखुवासभा, मनाङ, मुस्ताङ र हुम्लामा संक्रमण शून्य छ । ६ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले प्रवक्ता गौतमले जानकारी दिनुभयो । उनीहरु सबै वागमती प्रदेशका हुन् ।

मृतकको सङ्ख्या १ सय २०

यस्तै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *