कोरोना भाइरस नेपाली: थप चार जनाको मृत्यु, ३३८ जना सङ्क्रमित

काठमाडाैँ । गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको र ३३८ जना बिरामी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार जनाएको छ।

यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २३,३१० पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ६,७३८ जनामा सक्रिय सङ्क्रमण छ भने १६,४९३ जना भाइरसमुक्त भएका छन्।

गएको पाँच दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ छ। सबैभन्दा सक्रिय सङ्क्रमित प्रदेश नं २ मा ३,१४४ जना र वागमती प्रदेशमा १,२१० जना रहेका छन्।

कुन जिल्लामा कति सङ्क्रमित?

सोमवार पुष्टि भएकामध्ये सबैभन्दा धेरै सङ्क्रमित बाँकेका ६३ जना रहेका छन्। त्यसपछि काठमाण्डूका ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ। काठमाण्डू उपत्यकाका ललितपुर र भक्तपुरमा चार-चार जना सङ्क्रमित थपिएका छन्।

त्यस्तै रौतहटका ३१, पर्साका २२, मकवानपुरका २३ र सर्लाहीका २१ जनामा सङ्क्रमण देखिएको छ।

मृतकहरू को को हुन्?

सोमवार पुष्टि भएका मृतकहरू दुई पुरुष र दुई महिला रहेका छन्। बाँकेको कोहलपुर नगरपालिकाकी ७० वर्षीया महिलाको आइतवार मृत्यु भएको हो। उनी उच्च रक्तचाप र पारालाइसीसको बिरामी भएको एवम् मृत्युपश्चात कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको डा. गौतमले बताए।

पर्साको बेदियाही गाउँपालिकाकी ४५ वर्षीया महिलाको पनि आइतवार निधन भएको हो। उनमा पनि मृत्युपश्चात कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।

त्यस्तै काठमाण्डूको मध्य-बानेश्वरका ७६ वर्षीय पुरुषको सोमवार बिहान मृत्यु भएको हो। उनमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको बताइएको छ।

कीर्तिपुरका ६४ वर्षीय पुरुषको पनि सोमवार निधन भएको छ। उनी मिर्गौलाको बिरामी रहेको बताइएको छ।

के छ अरू तथ्याङ्क?

गएको २४ घण्टामा ८,४३२ वटा पीसीआर परीक्षण गरिएको छ। हालसम्म ४५२,२३६ जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। सो अवधिमा १४० जना रोगमुक्त प्रमाणित भएका थिए।

अहिले देशभरि क्वारन्टीनमा १०,७५९ जना छन्। अहिले गण्डकी र प्रदेश नं १ मा क्वारन्टीनमा हुनेको सङ्ख्या सर्वाधिक छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *