फेरि कम्तिमा १५ दिन कडा लकडाउन हुने

काठमाडौँ । स्वास्थ्य सरोकारवाला र विज्ञहरुले कोरोना नियन्त्रणका लागि पुन लकडाउन गर्न सरकारलाई सुझाव दिएका छन् ।

दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गएपछि प्रधानमन्त्री केपी ओलीले मंगलबार गर्नुभएको छलफलमा बिज्ञहरुले लकडाउन गर्न सुझाव दिएका छन् । केही बिज्ञहरुले तत्काल १५ दिन कडा खालको लकडाउन गर्न सुझाएका थिए भने केहीले आवश्यकता हेरी ठाउँ विशेषमा लकडाउन गर्न सुझाव दिएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोनाको समस्या समाधानका लागि कतिपयले कफर््यु लगाउनुपर्ने, केहीले कडा लकडाउन र केहिले बिशेष क्षेत्रमा मात्र लकडाउन गर्न सुझाव दिएको बताउनुभयो । उहाँले सवैको सुझाव सुनेपछि प्रधानमन्त्रीले सीसीएमसी, स्वास्थ्य मन्त्रालयसँग समेत छलफल गरेर लकडाउनको मोडालिटी तयार गर्ने बताउनुभएको थापाले जानकारी दिनुभयो ।

छलफलपछि जनस्वास्थ्यविद डा समिरमणि दीक्षितले भने देशभर लकडाउन गर्नुको साटो संक्रमण बढी भएका स्थानमा लकडाउन गर्नुपर्ने र अन्य स्थानमा व्यवस्थित बनाउँदै लैजानुपर्ने सुझाव दिएको बताउनुभयो ।

जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले विज्ञहरुले १५ दिन कडा खालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाएको बताउनुभयो । केही विज्ञले भने कोरोना अहिले नै नियन्त्रणमा आउन सक्ने अवस्था नरहेको र २–३ वर्षपनि लम्बिन सक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाएर अवस्थालाई सहजतातिर लैजानु पर्ने धारणा पनि राखेका थिए । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *