सिन्धुपाल्चाेक पहिराे अपडेट : मेलम्चीमा बेपत्ता ७ जनाकाे शव भेटियाे

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनामध्ये ७ जनाको शव भेटिएको छ ।

गए राति गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा बेपत्ता भएकामध्ये ७ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । बेपत्ता हुनेहरुमा कभर्ड हल निर्माणमा खटिएका मजदुर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोले कभर्ड हलको आधा भाग र मजदुर बस्ने टहरो पूरै पुरेको छ । पहिरोमा परी घाइते भएका ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र लगिएको उहाँले बताउनुभयो । अहिले घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय मिलेर बेपत्ताको खोजी गरिरहेका छन् ।

यस्तै घट्टे खोला छयाप्लुङ भिरमा गएको पहिरोबाट थप दुई जनाको शव निकालिएको छ । योसँगै मृतक सङ्ख्या दश पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिनुभयो । त्यस्तै, बाह्रबिसे नगरपालिका–२, कर्थलीमा पनि भीषण पहिरो गएको छ । घट्टेखोलाको छयाप्लुङ भिरमा पहिरो आउँदा पाँच घर पूर्णरुपमा क्षति भएको स्थानीय रेशमबहादुर तामाङले जानकारी दिनुभएको थियो ।

यसैबीच पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिरोले घर पुरिँदा एक दम्पतीको मृत्यु भएको छ । गएरातिको अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा वडा नम्बर २ गाङखोर निवासी ४९ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती ४८ वर्षीया लक्ष्मी सिलवाल क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । राति सुतिरहेका बेला घर माथिबाट आएको पहिरोमा उनीहरु पुरिएका थिए । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *