सिन्धुपाल्चाेकमा भीषण बाढी पहिराे, १६ घर बगे २३ जना बेपत्ता [अपडेट]

सिन्धुपाल्चोक । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले १६ घर बगाएको छ भने २३ जना बेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिका ५ जम्बुमा एल्मो खोलाको बाढी बगाउँदा १४ घर बगाएको छ भने १९ जना बेपत्ता भएका छन् ।

यस्तै बुधबार राति नै भोटेकोशी गाउँपालिका खहले खोलाको बाढीले बुलकुटे बस्तीका दुई घर बगाएको छ भने चार जना बेपत्ता भएका छन् ।

जम्बु र बुलकुटे बाढीमा परेर बेपत्ता हुने र घरबार गुमाउनेको खोजी कार्य र उद्धार हुन नसकेपछि स्थानीयहरू आक्रोसित हुन थालेका छन् । घटनास्थलमा अहिले पनि भारी वर्षा भइरहेको छ । जसका कारण घरपरिवार गुमाएकाहरूको अहिलेसम्म उद्धार हुन सकेको छैन ।

बाढीले जुरे पहिरोदेखिकै तातोपानीसम्मको सडकखण्ड अवरुद्ध हुँदा उद्धार कार्यमा कठिनाई भएको स्थानीय प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी घटनास्थलमा उद्धारकार्यमा खटिरहेको जानकारी दिनुभयो ।

बाढीले निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ । एकजना चिनियाँ प्राविधिक बेपत्तासमेत भएको आयोजनाका सीईओ मणिकुमार काफ्लेले जानकारी दिनुभयाे ।

आयोजनाका लागि आवश्यक मेसिन उपकरणहरु राख्ने गरिएको भण्डार गृह बाढीले बगाएको छ । सीईओ काफ्लेले बाढीले अरबौंको क्षति भएको बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *