नेकपा स्थायी समिति बैठक स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको छ । बुधबार करिब एक घण्टा बसेको बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको हो । कांग्रेस सांसदको निधनमा संघीय संसदको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम भएकाले बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको बुधबार विहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको थियो । आजको बैठकमा स्थायी सदस्यहरू योगेश भट्टराई, लीलामणि पोखरेल, मातृका यादव, केशव खतिवडा र एनके प्रसाईंले आ–आफ्नो धारणा राखेका थिए ।

उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफूलाई हटाउन खेल खेलिरहेको भनी दिएको अभिव्यक्तिबारे आ–आफ्नो धारणा केन्द्रित गरेका थिए । साथै उनीहरूले निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताको प्रक्रिया चालिएको विषयमा पनि आ–आफ्नो धारणा राखेको बताइएको छ ।

स्थायी समिति बैठक स्थगित भएपछि बैठकमा उठेका विषय र निकासका विषयमा अब नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले अध्यक्षहरूबीच छलफल भएपछि आवश्यकताअनुसार सचिवालयको बैठक पनि बस्ने र त्यहाँ छलफल भएर फेरि स्थायी समिति बैठक सुचारु हुने जानकारी दिए । मंगलबार १८ जनाले बोलेकामा सबैले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै उनको कार्यशैली र अभिव्यक्तिको आलोचना गरेका थिए ।

गत आइतबार ओलीले आफू नेतृत्वको सरकार ढाल्न भारत लागिपरेको र त्यसमा पार्टीकै नेताहरुको भूमिका रहेको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद चुलिएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल, नेताहरु बामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतले प्रधानमन्त्रीले तत्कालै पद त्याग्नुपर्ने माग गरेका थिए ।

पार्टीमा नेताहरुबाट आलोचना र राजीनामा मागेसँगै प्रधानमन्त्री ओलीले बुधबार बिहान आफू निकटका मन्त्री र स्थायी समिति सदस्यहरुलाई डाकेर छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *