एक किलो सलह किरा ल्याए सरकारले २० रुपैयाँ दिने

बुटवल । प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ । प्रदेश ५ मा शनिबार सलह किरा देखिएपछि प्रदेश सरकारले एक किलो सलह किरा ल्याए २० रुपैयाँ दिने निर्णय गरेको हो ।

प्रदेश ५ का विभिन्न जिल्लामा सलह किरा प्रवेश गरेपछि यसको नियन्त्रणका लागि प्रदेश सरकारले यस्तो निर्णय गरेको हो । सलह किरा जम्मा गरेर ल्याउनेलाई वडा कार्यालयहरुले तत्काल नगद दिने सरकारले बताएको छ ।

सलह किरा दिउँसोमा उड्छ भने साँझमा बास बस्छ । बास बसेका बेलामा समातेर जम्मा गरेर क्षति रोकिनुका साथै मेहनत वापत प्रोत्साहन रकम लिन मन्त्रालयले अपील गरेको छ । मालाथिन र क्लोरपाइरिफोस विषादी पानीमा मिसाएर छर्केर पनि सलह नष्ट गर्न सकिने मन्त्रालयले सुझाएको छ ।

धानको बीउ त्रिपाल वा प्लास्टिकले ढाक्न अपील

मन्त्रालयले धानको बीउलाई सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले ढाकेर राख्न अनुरोध समेत गरेको छ । सलह किरा हावाको वहाव जता हुन्छ, त्यतै जान्छ ।

शनिबार रुपन्देहीमा देखिएका सलह पाल्पा र गुल्मीतर्फ लागेका मन्त्रालयले जनाएको छ । सलह किराको ठूलो झुण्डले बास बसेको ठाउँमा एक रातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *