जनतालाई बेसार पानीमा अल्झाएर नेताको घाँटीका ‘कोरोना जन्तर’

काठमाडौं । विश्व, कोरोना महामारीले आक्रान्त भइरहेका बेला नेपालमा एकाएक ‘कोरोना भगाउने कार्ड’ चर्चामा आएको छ । कोरोनाबाट छुट्कारा पाउन विश्वजगत अनेकन् प्रयत्न गरिरहेको छ । तर, नेपालमा सत्तारुढ दलकै शीर्षस्थ नेता र अन्य दलका सांसदले कोरोना भगाउन ‘जादुई जन्तर’ भन्ठानी ‘भाइरस रिमुभिङ कार्ड’भिरेर जग हँसाइदिएका छन् ।

कुरा, शुक्रबारको हो । बालुवाटारमा बसेको सत्तारुढ नेकपा स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबैजसो सदस्य गलामा नीलो डोरीसहितको एउटा कार्ड भिरेर प्रकट भए । सबैले भन्ठाने, पार्टीले बैठकमा प्रवेश गर्न बनाएको कार्ड होला । तर, पछि थाहा भयो, त्यो त कोरोना संक्रमणबाट सुरक्षित हुने भन्दै स्थायी कमिटी सदस्यका लागि पार्टीले किनेर दिएको ‘भाइरस रिमुभिङ कार्ड’ रहेछ । अंग्रेजी अक्षरले यसमा लेखिएको पनि रहेछ, ‘भाइरस रिमुभिङ कार्ड’ भनेर ।

यो कार्ड पार्टीले नै खरिद गरेर बाँडेको भनिए पनि स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले नेकपाका एक बरिष्ठ नेताको नामै खोल्दिए । र, भन्दिएः माधव नेपालले प्याकै ल्याएका थिए भनेर ।

बालुवाटार पसिसरमा हाँस्दै न्यौपानेले भने, ‘कोरोना जन्तर भनेर ल्याइदे । अब काम गर्ने हो कि, बेसारको धूलो जस्तै हो ! मैले त अर्काले लगाएको देखेर मागेको, लगाइदे । यो के हो–कसो हो ? थाहा छैन । बाहिर घाममा हिँड्दा नलाउनु भनिएको छ । माधव नेपाल कमरेडले ल्याउनु भएको हो । उहाँसग एउटा प्याक छ । डाक्टरहरुले दिएका रे । जापानमा पनि धेरैले लगाएर हिँड्छन् अरे ।’ यहिबीचमा संचारकर्मीले प्रश्न गरे–स्थायी कमिटी सदस्य सबैले लगाएका छन् ? न्यौपानेले, ‘सबैले लगाएका छैनन्, भेटेजतिले लाछन्’ भन्ने जवाफ दिए ।

नेकपाका नेता र अन्य दलका सांसदलाई यो कार्ड बेच्ने विक्रेता हो, ‘बियोन्ड द वाल ट्रेडिङ कम्पनी’ । पहिले–पहिले सानोमा भूतप्रेत लाग्दैन भनेर गलामा जन्तर झुन्ड्याइन्थ्यो । नेपालमा अझै त्यो चलन रहेपनि अहिलेको वैज्ञानिक युगमा त्यसमा विश्वास गर्नेहरु निकै कम भइसकेका छन् । तर, हाम्रो मुलुकका नेताहरु के भएका । कुनै अन्जान व्यापारीले यो त कोरोनाका लागि छु मन्तर हो भनेकै भरमा गलामा भिरिहाल्नु पर्ने ?

कार्डमा कोरोना भगाउने भनेर लेखिएको पनि छैन । भाइरस रिमुभिङ भनेको भरमा लगाइदिने ? कस्तो खालको भाइरस र ब्याक्टेरिया भाग्ने हो यसले, कसरी रिमुभ गर्ने हो ? कतैबाट प्रणाणित छ, छैन ? वैज्ञानिक आधार के हो ? सोधी खोजी गर्नु पर्दैन । यही हो, जिम्मेवार व्यक्तिको ताल । जसले जे दियो लगाइहाल्ने ?

र, अर्को कुरा मिनि संसद मानिन्छ संसदीय समितिलाई । तर, प्रतिनिधि सभाको विकास तथा प्रविधि समिति सभापतिले त संसदमै व्यापार थाल्नु भएछ । मान्नीय कल्याणी खड्काका छोराले नै ‘कोरोना जन्तर’को व्यापार थालिछन् । कसैले खोजे खड्काले छोराको नम्बर दिने ! कोरोना भगाउने भनिएको यो कार्ड उनकै छोरा विप्लव केसीको कम्पनीले चीनबाट ल्याएको भन्ने खुलेको छ ।

 

केसीले १० हजार थान यो कार्ड नेपाल ल्याएको र त्यही कार्ड नेकपा नेताहरुले खरिद गरेर लगाएका बताइँदै छ । जुक्ति चाँहि हो है–ठूलै नेतालाई लाइदिएपछि त सबैले विश्वास गर्छन् र भक्को व्यापार गर्न सकिन्छ (?) । वाह, क्या काइदा ! तर, पानी मुनि दिसा गर्दाको नतिजा त छिनमै थाहा भइहाल्छ । क्षणभरमै जन्तरको जादू थाहा भइहाल्यो । यो धोका र ठगि सिवाय केही रहेनछ भन्ने कुरा, २४ घण्टा नपुग्दै उदांगियो ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओली स्वास्थ्यका दृष्टिले कमजोर छन् भन्ने कुरा त सर्वविधितै छ । यसरी मानव स्वास्थ्यमा गम्भीर असर गर्ने किट भिरेर उनकै छेउछाउ जानुले त्यो कार्ड भिर्न सुझाउने नेताहरुको नियतमाथि नै गम्भीर शंका उब्जाएको छ ।

चिकित्सकहरु कोरोनाबाट बच्ने र बचाउने कुनै औषधि र प्रविधि विकास नभएको बताउँछन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन जिम्मेवार व्यक्तिले नै यस्ता कार्डमा विश्वास गर्नु दुर्भाग्य हो, भन्छन् । उनले जिम्मेवार व्यक्तिले नै यसरी लगाइदिएपछि जनसाधारणमा त्यसको व्यापक प्रभाव पर्ने बताए । यो चिन्ताको विषय हो, भन्दै उनले कुनै पनि वैज्ञानिक आधारविनाका यस्ता कुरामा विश्वास गर्नु ठूलो धोकाधडी हुने बताए । डा. पुनले त्यसरी कोरोना भाग्ने भए यतिधेरै भ्याक्सिन र औषधिका पछि दौडिनै पर्ने थिएन समेत भने ।

यो विषयले शनिवार सामाजिक सञ्जाल र मिडिया तताएपछि स्वास्थ्य मन्त्रालय पनि बोल्न बाध्य भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आफुहरुले यस्ता कुनै पनि प्रकारका कार्डलाई स्वीकृति दिएको छैन, भने । साथै उनले यसले मान्छेको स्वास्थ्य गम्भीर एवं घातक समस्या निम्त्याउने बताउँदै यस्ता भ्रमका पछि नलाग्न आग्रह गरे ।

त्यति मात्रै होइन उनले जनभावनालाई वहकाएर व्यापार गर्नेको पाता कस्नुपर्ने सम्मको चेतावनी दिए ।

मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने क्लोरिन डाइअक्साइड, ग्यास सस्टेन रिलिज एजेन्ट, जियोलाइट र बाँसको कोइलाजस्ता पदार्थ राखिएका यस्ता कार्ड प्रयोग गर्न नेताहरुले अलिकति पनि सोच्नु पर्दैन ? अनि प्रतिनिधि सभाको विकास समिति सभापति खड्काका छोराको कम्पनीलाई कारबाही हुनु पर्छ कि पर्दैन ?

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओली स्वास्थ्यका दृष्टिले कमजोर छन् भन्ने कुरा त सर्वविधितै छ । यसरी मानव स्वास्थ्यमा गम्भीर असर गर्ने किट भिरेर उनकै छेउछाउ जानुले त्यो कार्ड भिर्न सुझाउने नेताहरुको नियतमाथि नै गम्भीर शंका उब्जाएको छ । कतै त्यसैको शुइँको पाएर त होइन प्रधानमन्त्री ओली शुक्रबार बैठकमै नआउनु र सनिबारको बैठकमा एकैछिन मात्र टुसुक्क बसेर बैठकबाट बाहिरिएको ?

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *