फेरियो लकडाउनको मोडालिटी, अब के खुल्छ के खुल्दैन ?

काठमाडौँ । सरकारले झण्डै तीन महिनादेखि जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय औपचारिक रुपमा सार्वजनिक गरेको छ । सञ्चार मन्त्रालय आयोजित साप्ताहिक पत्रकार भेटघाटमा सरकारका प्रवक्ता, अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले लकडाउनलाई खुकुलो बनाउँदै केही क्षेत्रलाई खुल्ला गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । अब निजी सवारी साधनहरु जोरबिजोर प्रणालीका आधारमा चल्ने छन् ।

सरकारले उद्योग, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर्सहरु खुल्ला गर्ने निर्णय गरेको छ । यस्तै, सरकारी कार्यालय तत्कालका लागि दुई सिफ्ट अर्थात् बिहान आठ बजेदेखि दिउँसो एक बजेसम्म र दिउँसो १ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ ।

यो वर्ष एसईई परीक्षा नलिने निर्णय गर्दै सरकारले विद्यालयको आन्तरिक मूल्याङ्कनलाई नै मान्यता दिई प्रमाणपत्र दिने निधो गरेको प्रवक्ता खतिवडाले बताउनुभयो ।

मन्त्री खतिवडाका अनुसार स्वास्थ्यसँग सम्बन्धित क्षेत्र, सबै प्रकारका कृषि र पशुपक्षी व्यवसाय, उत्पादनदेखि बिक्रीवितरणसम्मको श्रृंखला खुला गरिएको छ ।

यसअघि अनावश्यक कामका लागि बाहेक पैदल यात्रामा रोक लगाएको सरकारले पैदल यात्रा खुला गरेको छ भने मोटरसाइकल र साइकल चलाउन दिने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो । भौतिक दूरीलाई व्यवस्थित गर्न र भीडभाड कम गर्न सरकारले यो निर्णय गरेको हो ।

सवारीसाधन संचालन र कार्यालय सञ्चालन गर्ने निर्णय असार १ गतेदेखि र अन्य निर्णयहरु बिहीबारदेखि २१ दिनसम्म कायम हुनेछ । उहाँले अन्तर्राष्ट्रिय र आन्तरिक उडान, सीमानाकाबाट आवातजातव, सिनेमा हल, सार्वजनिक पुस्तकालय, धार्मिक स्थलमा भेला हुन निषेध गरिएको बताउनु भएको छ ।०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *