दक्षिणकालीमा दिगो हात धुने स्टेशन निमार्ण

काठमाडौं । शिखरापुर सामुदायिक सिकाइ केन्द्रले दिगो हात धुने स्टेशन निमार्ण गरी दक्षिणकाली नगरपालिकालाई आज हस्तान्तरण गरेको छ । केन्द्रले दक्षिणकाली नगरपालिकाभित्रका १३ स्थानमा दिगो हात धुने स्टेशन निर्माण गरेर आज एक कार्याक्रमबीच नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

नगरपालिकाका प्रमुख मोहन बस्नेतले आज दिगो हात धुने स्टेशनको उद्घाटन गर्नुभएको हो ।

कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला यसबाट बच्न साबुन पानीले हात धुने उपायलाई व्यवहारमा उतार्न दिगो हात धुने स्टेशन निमार्ण गरी नगरपालिकालाई औपचारिक रुपमा हस्तान्तरण गरेको केन्द्रका केन्द्रका अध्यक्ष श्यामबहादुर केसीले जानकारी दिनुभयो ।

केन्द्रले विशेष गरी धेरै भिडभाड हुने स्थानहरुको पहिचन गरी स्टेशन निर्माण गरेको हो ।

केन्द्रले नगर कार्यपालिकाको कार्यालय, नगरका ९ वटा वडा कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र चाल्नाखेल, मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङ र खोकना आरोग्य आश्रम (कुष्ठरोग निवारण आश्रम) पातिङ्गालमा गरी जम्मा १३ स्थानमा स्टेशन सञ्चालनमा ल्याएको हो । ‘यो स्टेशन अन्य हात धुने स्टेशनभन्दा फरक छ । यसकारण यसलाई दिगो हात धुने स्टेशन भनिएको हो,’ , केन्द्रका अध्यक्ष श्यामबहादुर केसीले भन्नुभयो, ‘पानी ट्याङ्की, फलामको स्ट्याण्ड, पानीको स्रोतबाट पानी ल्याउने तथा फोहोर पानी जाने व्यवस्था सहितको दिगो व्यवस्थापन भएको स्टेशन निमार्ण गरेका छौं । यसलाई दिगो बनाउने जिम्मा हामी सबैको हो ।’

शिखरापुर सामुदायिक सिकाइ केन्द्रको यो अभियानमा वास (Water, Sanitation and Hygine) को क्षेत्रमा कार्यरत ‘वाइन टू वाटर नेपाल’ले प्राविधिक सहयोग गरेको अभ्यक्ष केसीले बताउनुभयो ।

सबै स्टेशनमा ३ महिनासम्म पुग्ने वातावरणमैत्री साबुन (रिसाइकल्ड साबुन) समेत वितरण गरिएको केन्द्रले जनाएको छ ।

यसअघि,केन्द्रले वाइन टू वाटर नेपालको आर्थिक सहयोगमा इन्द्रसरोवर गाउँपालिकामा पनि दिगो हात धुने स्टेशन निमार्ण गरेको थियो । केन्द्रले इन्द्रसरोवर गाउँपालिकामा स्थानीय सामुदायिक एफएममार्फत तामाङ तथा नेवारी भाषामा कोभिड १९बारे जनचेतनामुलक सन्देश प्रवाह गर्दैै आइरहेको अध्यक्ष केसीको भनाइ छ ।

केन्द्रले कोरोना महामारीको दौरान आर्थिक रुपमा विपन्न परिवारहरुलाई खाद्यान्न सहयोगसँगै स्वास्थ्य जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ । केन्द्रले विभिन्न ठाउँमा स्वास्थ्य सामाग्री वितरण गर्दै आएको अध्यक्ष केसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *