फुटबलर समीक्षाको उपचारमा चिकित्सकको लापरवाही

काठमाडाैँ । चिकित्सकको लापरवाहीका कारण महिला फुटबलकी उदीयमान खेलाडी समीक्षा मगरको उपचार कठिन बनेको छ । गम्भीर चोट लागेको १२ दिन भइसक्दा पनि मगरको आँखाको शल्यक्रिया गर्न सकिएको छैन । उनको आँखाको घाउ दिन प्रतिदिन बढ्दै गएको छ ।

उदयपुरको बेलका नगरपालिका–६ की समीक्षाको यही वैशाख १२ गते बारीमा काम गर्दा ढुङ्गा उछट्टिँदा दाहिने आँखामा चोट लागेको थियो । अर्को दिन उनलाई उपचारका लागि बुबा र दाजुले मोटरसाइकलमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइपुर्याएका थिए । प्रतिष्ठानका चिकित्सकले आँखाको उपचार थाल्नुको सट्टा समीक्षालाई कोरोना भाइरसको आशङ्कामा आइसोलेसनमा राखेका थिए । “उदयपुरबाट आएको भन्ने थाहा पाएपछि आइसोलेसनमा राखे, उपचारतर्फ ध्यान दिएनन्”, हाल विराटनगरस्थित आँखा अस्पतालमा रहेका समीक्षामा बुबा दलबहादुरले फोनमा भन्नुभयो, “चिकित्सकको लापरवाहीले छोरीको उपचारमा समस्या भयो ।” चार दिनपछि चिकित्सकले उपचार हुन नसक्ने भन्दै विराटनगर आँखा अस्पताल लैजान उहाँलाई सल्लाह दिएका थिए ।

धरानका चिकित्सकले तीन दिनसम्म आइसोलेसनमा राखेकै कारण समीक्षाको उपचार गर्न कठिन बनेको छ । “समयमै अस्पताल नपुर्याउँदा चिकित्सकले आँखाको ज्योति गुम्ने खतरा बढ्यो भनेका छन्”, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्रदेश नं १ उपाध्यक्ष किशोर राईले भन्नुभयो, “शल्यक्रिया गर्न ढिला भएको छ, चिकित्सकसित सल्लाह गरिरहेका छौँ ।” घाउ नघटेकाले शल्यक्रिया गर्न ढिला भएको चिकित्सकले जानकारी गराएको उहाँले बताउनुभयो । समीक्षाको उपचारको सबै खर्च एन्फाले बेहोर्ने राईले जानकारी दिनुभयो ।

बारीमा सिमल तरुल खन्ने क्रममा १५ वर्षीया समीक्षाको आँखामा चोट लागेको थियो । आँखा दुख्न थालेपछि उनलाई रामपुर ठोक्सिला स्वास्थ्य चौकी पुर्याइएको थियो । आँखाको नानीमा चोट लागेका कारण उनलाई चौकीका स्वास्थ्यकर्मीले उपचारका लागि धरान लैजान सल्लाह दिएका थिए । उनलाई ज्वरो आएको भन्दै बिपी प्रतिष्ठानका चिकित्सकले कोरोना भाइरसको आशङ्का गरे । उपचारतर्फ नलागिकन समीक्षालाई आइसोलेसनमा राखियो । “हामीले उपचार भइरहेको छ भन्ने ठान्यौँ”, समीक्षाका दाजु सनमले भन्नुभयो, ‘चार दिनपछि चिकित्सकले विराटनगर लैजानुस् भनेपछि आत्तियौँ ।” समीक्षाको नमूना सङ्कलन गरेर परीक्षण गरेपछि तीन दिनपछि उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

समीक्षालाई वैशाख १८ गते विराटनगरस्थित आँखा अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्थाबारे बुबा दलबहादुर र दाजु सनमलाई खासै जानकारी छैन । दुवै जना समीक्षालाई सन्चो होला कि भनेर अस्पतालमा कुरेर बसेका छन् । उपचारका लागि ढिला ल्याएका कारण समस्या जटिल रहेको चिकित्सले जानकारी दिएको सनमले बताए । अहिले दुवै जनाको मन भतभती पोलिरहेको छ । “धरानका चिकित्सकले शुरुमै आँखा अस्पताल लैजान सल्लाह दिएको भए यस्तो हुँदैनथ्यो”, बुबा दलबहादुरले भन्नुभयो ।

यु–१६ राष्ट्रिय महिला टोलीकी सदस्य समीक्षाले स्थानीय लिटिल स्टार स्कुलबाट ८ कक्षाको परीक्षा दिएकी हुन् । उनी स्थानीयदेखि राष्ट्रियस्तरका फुटबल प्रतियोगितामा भाग लिँदै आएकी थिइन् । अग्रपङ्क्तिमा खेल्ने गरेकी समीक्षा सम्भावना बोकेकी खेलाडी थिइन् । आर्थिक अवस्था निकै कमजोर भएका कारण हाल उनको उपचारमा विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरुले सहयोग गर्दै आएका छन् । उनको उपचारका लागि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सोमबार रु २५ हजार सहयोग गर्नुभएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता अशोक ऐरले समीक्षालाई ज्वरो आएका कारण शुरुमै आइसोलेसनमा राखिएको बताउनुभयो । “ज्वरो धेरै आएकाले कोरोनाको आशङ्कामा आइसोलेसनमा राखिएको हो, पछि उपचार गर्दा यहाँ निको हुने देखिएन, विराटनगर लैजान सिफारिस गरेका हौँ”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *