गाउँका पसल खुला, तास र मदिरामा मस्त

दुल्लु । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको तीन साता बढी लामो बन्दाबन्दीमा सदरमुकामबाहेक स्थानीय तहका अधिकांश पसल खुलेका छन् । सरकारले बन्दाबन्दीको पूर्ण पालना गर्न सूचना जारी गरे पनि सूचनाको बेवास्ता गर्दै गाउँका पसलहरु चलिरहेको छ । जिल्लाका ११ स्थानीय तहका मुकामबाहेक गाउँका फुटकर पसलमा मानिसहरूको भीड लाग्ने गरेको छ । गाउँका फुटकर पसलेले निर्धक्क व्यापार व्यवसाय गरिरहेका छन् ।

दैलेख जिल्लाको सदरमुकामसमेत रहेको नारायण नगरपालिकाले गाउँका पसलहरु खुला भएपछि सबै फुटकर पसल तथा होटललाई बन्द गर्न आग्रह गर्दै पत्र थमाएको छ । वडा नं १ मा रहेको सदरमुकाम बाहेकका अन्य १० वडाका वडाअध्यक्षलाई परिचालन गरी पसलमै पुगी पत्र बुझाइएको नगर प्रमुख रत्नबहादुर खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले नगरका १० वटै वडाअध्यक्षलाई आजैबाट गाउँका फुटकर पसलसमेत बन्द गर्न पत्र काटेर खटाएका छौँ । अन्तिम पटक पत्रद्वारा आग्रह गरिएको हो । अटेरी गरी खुला गरे पसल नै सिल गरिनेछ ।”

यस्तै निर्वाचन क्षेत्र–२ को दुल्लु नगरपालिकामा समस्या देखिएकाले बन्दाबन्दीलाई कडा पारिने नगर प्रमुख घनश्याम भण्डारीले बताउनुभयो । गाउँका पसलहरु खुला हुँदा बन्द गर्ने अभियान अगाडि बढाइने आठविस नगर प्रमुख खड्गराज उपाध्यायले बताउनुभयो ।

साना तथा फुटकर पसल खुला हुँदा कोरोना भाइरस फैलिने सम्भावना देखिएपछि सावधानी अपनाउन आफ्नो गाउँपालिकामा सहुलियत पसल सञ्चालन गरिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिनुभयो । “हामीले स्थानीय जनताका लागि सहुलियत पसल हरेक वडामा सञ्चालन गरेका छौँ, त्यहाँ कोरोना भाइरसको सङ्क्रमण रोक्न सबै नियम पालना गरिएको छ । सहुलियत पसलबाहेक अन्य पसलहरु खुला भएको जानकारी पाए कारबाही गरिने छ”, उहाँले भन्नुभयो ।

यो महामारीमा सरकारले कोरोना रोकथामका लागि गरेको बन्दाबन्दीलाई पूर्ण पालना गर्न सबै व्यापारी हरुलाई पसल बन्द गरी सहयोग गरिदिन आग्रह गरिएको दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “कतै भूलवश गाउँमा पसलहरु खुल्ला भएका होलान् ती पसललाई हामी हाम्रो माध्यमबाट बन्द गर्न लगाउँछौं ।”

भारतबाट आएका मानिसहरू क्वारेन्टाइनमा बस्नुको साटो स्थानीय पसलहरुमा मदिरा सेवन गरेका र तास खेलेका भेटिने गरेको महाबु–१ का शिक्षक जङ्गबहादुर थापाले बताउनुभयो । सम्झाउँदा उल्टो आफूलाई गाली गर्ने गरेको उहाँको भनाइ छ । “स्थानीय तहका मुकामबाहेक अन्य गाउँमा सायद यस्तै हालत छ, सरकारका लागि बन्दाबन्दी मान्नु पर्ने जस्तो बुझाइ हरेकमा छ, त्यसैले सूक्ष्म अनुगमन गर्न जरुरी छ”, उहाँले भन्नुभयो ।

अधिकांश गाउँका पसलमा बस्ने, गोप्यरूपमा तास खेल्ने र त्यो पनि नभए हुल बाँधेर खोलामा आउने गरेको भैरवी–१ कर्णबहादुर कार्कीले बताउनुभयो । “मैले खोलामा माछा मार्न थालेको २० वर्ष भयो । मेरो घर भैरवी र महाबुको सङ्गममा छ तर खोलामा मानिसको यति ठूलो भिड अहिलेसम्म देखेको थिएन, भीड देख्दा मलाई अचम्म लागेको छ”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *