कोरोनाको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ ।

नयाँ वर्ष २०७७ को अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोनाको महामारी समाप्त नहुन्जेलसम्म पारिश्रमिक नलिने निर्णय गरेको जानकारी दिनुभएको हो । आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय प्रधानमन्त्रीले गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले मुलुकको प्रगतिमा हुने उपलब्धीको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारवहन सबैले मिलेर गर्नुपर्ने बताउनुभयो । देशभित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वोपरी रहनु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो । विश्वव्यापी यस संकटको समाधान, विश्वव्यापी साझेदारी र सहयोगबाट मात्र सम्भव रहेको उहाको भनाई छ । उहाँले कोरोनाविरुद्धको संघर्षमा मित्र राष्ट्रहरुबाट प्राप्त सदभाव, ऐक्यबद्धता र सहयोगप्रति आभार प्रकट पनि गर्नुभयो । उहाले कोरोना संक्रमणको आगामी दिनको अवस्था हेरेर सरकारले थप योजना बनाउने पनि बतायनुभयो ।

प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७७ सालको स्वागत साह्रै अप्ठ्यारो परिस्थितिमा गर्नुपरेको पनि बतायनुभयो । पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने समय उल्लासमय हुनुपर्नेमा त्यसो हुन नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *