अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गते सम्म बन्द

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गते सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले बैशाख ३ गते सम्म गरिएको उडान स्थगितको समय थप पन्ध्र दिन लम्ब्याउने निर्णय गरेको हो ।

बैशाख ३ गतेसम्म स्थगित गरिएको आन्तरिक उडानका विषयमा भने बैठकले कुनै निर्णय गरेको छैन । बैठकले संक्रमणको उच्च जोखिम भएका जिल्लाहरुमा ¥यापिड किट मार्फत परीक्षणलाई बढाउने निर्णय पनि गरेको छ । कैलाली, कञ्चनपुर र बागलुङमा आरडिटी पद्धतिबाट सिघ्र परीक्षण गर्ने र त्यसबाट पोजेटिभ देखिए पिसिआर मेसिनबाट परीक्षण गर्ने निर्णय गरिएको हो ।

संक्रमणको बढी सम्भावना भएका जिल्लाहरु डोटी, अछाम, जुम्लामा पनि सघन रुपमा परीक्षणलाई अगाडि बढाउने निर्णय समितिले गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिए ।

यस्तै बैठकले खाद्य वस्तुको आपूर्तिलाई स्वभाविक राख्ने, आवागमनमा कडाई र आपूर्ति नियमित गर्ने निर्णय पनि गरेको छ । बैठकमा अत्यावश्यक स्वास्थ्य सामग्री जि टु जि मार्फत नै खरिद अघि बढाउने र त्यसका लागि विदेशमा रहेका कूटनीतिक नियोगसँग समेत समन्वय गर्ने विषयमा कुराकानी भएको छ । बैठकमा लकडाउन कार्यान्वयनका लागि भएका कामहरुको विषयमा समेत समीक्षा भएको छ ।

लकडाउनको अवस्थमा २ हजार ६ सय भन्दा बढी व्यक्तिहरुलाई कारबाही गरी सम्झाएर छाडेको र २ हजार २ सय ३५ सवारी साधनहरुलाई कारबाही गरिएको छ । यस्तै, कोरोना भाइरस संक्रमणको आशंका लागेकाहरुलाई सेवा दिन देशैभर १ हजार ९ सय ३९ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने गरी व्यवस्थापन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *