थापाको परिवारलाई राहत उपलब्ध गराउन सांसद रानाको माग

सुनिल कार्की
पाल्पा । ५ नम्बर प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेसका सभापति बीरबहादुर रानाले रुपन्देहीको कोरोना अस्थायी अस्पतालमा मृत्यु भएका बाबुराम थापाको परिवारलाई राहात उपलब्ध गराउन माग गर्नुभएको छ । बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा उपचारार्थ पाल्पा जिल्ला रिब्दीकोट गाउँपालिका–५, कुसुमखोला सैटोला घर भई सैनामैना नगरपालिकामा अस्थायी बसोवास गर्दै आएका ३४ वर्षीय थापाको मृत्यु भएको थियो ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै रानाले विदेशबाट फर्केका थापा सामान्य बिरामी भई बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालको आइसोलेसन वार्डमा चैत १३ गते भर्ना भएकोमा उक्त वार्डमा उचित उपचार पाउन नसकी मृत्यु भएको खबरले मर्माहत तुल्याएको बताउनुभएको हो ।

प्रदेश सभा सदस्य रानाले यस्तो अवस्थामा बिरामीको कोरोना संक्रमण नभई अन्य कारणले मृत्यु हुने अवस्था आउनु दुःखद भएकाले अन्य स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टिन र आइसोलेसन वार्डप्रति पनि गम्भीर प्रश्न उव्जाएको बताउनुभएको छ ।

सामान्य ज्वरो, रुघाखोकी लाग्दैमा जो सुकै नागरिकलाई कोरोनाको आशंकामा क्वारेन्टिन र आइसोलेसनमा राख्दा पुनः अन्य नागरिकले अकालमा ज्यान गुमाउन पर्ने अवस्था नदोहोरियोस् भन्दै संघीय, प्रदेश र स्थानीय सरकारबाट क्षतिपुर्ति र परिवारमा उचित राहतको व्यवस्था गर्न जोडदार माग गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *