काेराेना भाइरसका कारणा मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो, ६ लाख ६२ हजार बढी संक्रमित [अपडेट ]

एजेन्सी । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । आइतबार बिहान ६ बजेसम्म २ सय भन्दा बढी मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ३० हजार ८ सय ३९ जनाको मृत्यु भएको हो । कोरोनाबाट ६ लाख ६२ हजार ६ सय मानिस संक्रमित भएका छन् । यसमध्ये १ लाख ४१ हजार ५ सय निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा इटाली परेको छ । त्यहाँ मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । शनिबार साँझ थप ८ सय ८९ जनाको मृत्यु भएपछि कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार २३ पुगेको हो । ५ हजार ९ सय ७४ जना मानिसहरु संक्रमण देखिएपछि त्यहाँ संक्रमित हुनेको संख्या ९२ हजार ४ सय ७२ पुगेको छ ।

इटाली सरकारले यसअघि अप्रिल ३ सम्मका लागि घोषणा गरिएको ‘लकडाउन’ अझ बढ्ने त्यहाँकी गृहमन्त्रीले बताएकी छन् । इटालीका गृहमन्त्री लुचियाना लामोरगेजेले पछिल्लो संक्रमितको संख्या हेर्दा अप्रिल ३ मै ‘लकडाउन’ लकडाउन खोल्न सक्ने अवस्था नरहेको बताएकी छन् । इटालीमा लकडाउन जारी रहेपछि स्कूल तथा बिश्वबिद्यालयहरुले अनलाइनमार्फत पठनपाठन गरिरहेका छन् ।

यस्तै अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार २ सय ११ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय १५ जनाको मृत्यु भएको छ । हालसम्म अमेरिकामा १ लाख २३ हजार ३ सय ११ जना संक्रमित भएका छन् । जसमध्ये एकै दिनमा १९ हजार १ सय ८७ जना नयाँ संक्रमित देखिएका हुन् । अमेरिकामा ३ हजार २ सय ३१ जना उपचारपछि निको भएका छन् भने १ लाख १७ हजार ८ सय ६९ जना उपचाररत छन् ।

कोरोना भाइरसको उद्भव मानिएको चीनमा पछिल्लो २४ घण्टामा कुनै नयाँ संक्रमण देखिएको छैन । यद्यपि त्यहाँ ३२ सय ९५ जनाको मृत्यु भइसकेको छ ।

स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ९ सय ८२ पुगेको छ । एकैदिन अरु ८ सय ४४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ६ हजार नजिक पुगेको हो । थप ७ हजार ५ सय १६ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या ७३ हजार २ सय ३५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *