लकडाउन चाैथाे दिन : घरमै खाद्यान्न सहयोग, सबै स्थानीय तहमा क्वारेन्टाइन

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्वर्गद्वारी टोलका १४ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । सरकारले कोभिड–१९ सङ्क्रमन फैलिन नदिन तथा नियन्त्रण गर्न लकडाउन गरेको अवस्थामा आर्थिक अवस्था कमजोर भएकालाई घरमै लगेर खाद्यान्न सहयोग गरिएको छ ।

सोही वडाको नवज्योति टोल विकास संस्थाले लकडाउन अवधिभर पुग्ने गरी खाद्यान्न सहयोग गरेको टोलका अध्यक्ष पदमप्रसाद पोखरेलले बताउनुभयो । “लकडाउनले उहाँहरुको दैनिकी सञ्चालन गर्न समस्या भएको रहेछ”, उहाँले भन्नुभयो, “त्यसैले हामीले सबै परिवारलाई लकडाउनको अवधिभर पुग्ने गरी खाद्यान्न सहयोग गरेका हौँ ।”

यहाँका कतिपय परिवार अशक्त, कोही सहाराविहीन, एकल महिला रहेकाले सहयोग गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो । अन्य टोलमा पनि यसरी नै लकडाउनको समयमा दैनिक जोहो टार्न समस्या भएकालाई सहयोग गर्नेसमेत उहाँले बताउनुभयो । “हामीले यो अभियानलाई लकडाउन अवधिभर जारी राख्ने छौँ”, उहाँले भन्नुभयो, “कोही दैनिक जोहो गर्न समस्या हुनेहरुलाई सम्पर्क आउन पनि अनुरोध गर्दछौँ ।”

दाङका सबै स्थानीय तहमा क्वारेन्टाइन

कोभिड–१९ सङ्क्रमण फैलिन नदिन तथा रोकथामका लागि दाङका दशवटै स्थानीय तहमा क्वारेन्टाइन कक्ष स्थापना गर्ने भएको छ । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार दाङका सबै स्थानीय तहमा जम्मा २४५ श्यया क्षमताको क्वारेन्टाइन कक्ष स्थापना गर्ने तयारी थालिएको छ ।

कोभिड–१९ सङ्क्रमणका हिसाबले दाङ पनि उच्च जोखिममा रहेको भन्दै सबै स्थानीय तहमा आइसोलेशन कक्ष स्थापना गर्ने गरी तयारी अघि बढेको हो । प्रजिअ रिजालका अनुसार दाङको बबई गाउँपालिकाले ५० श्ययाको क्वारेन्टाइन कक्ष स्थापना गरिने भएको हो ।ं

त्यस्तै लमही नगरपालिकाले ३५ श्यया, बङ्गलाचुली र दङ्गीशरण गाउँपालिकाले ३०÷३० श्यया, घोराही उपमहानगरपालिका, राजपुर गाउँपालिका र राप्ती गाउँपालिकाले २५÷२५ श्यया, शान्तिनगर र गढवा गाउँपालिकाले १०÷१० श्यया तथा तुलसीपुर उपमहानगरपालिकाले पाँच श्ययाको क्वारेन्टाइन कक्ष स्थापना गरिने भएको छ ।

दाङका केही स्थानीय तहले विद्यालयको भवनमा क्वारेन्टाइन कक्ष स्थापना गर्ने भएका छन् । प्रजिअ रिजालका अनुसार चार स्थानीय तहले विद्यालयको भवनमा क्वारेन्टाइन कक्ष स्थापना गर्ने भएका हुन् । बबई गाउँपालिकाले मावि पदमपुर, लमही नगरपालिकाले बाल जनता उच्चमावि, गढवा गाउँपालिकाले जनता मावि, शान्तिनगर गाउँपालिकाले मावि बयालेसिमतारामा क्वारेन्टाइन कक्ष स्थापना गर्ने भएका हुन् ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले उद्योग वाणिज्य सङ्घको सभाहलमा, घोराही उपमहानगरपालिकाले कुइरेपानी मानसिक अस्पतालमा, राजपुर गाउँपालिकाले गङ्गदी स्वास्थ्य चौकी, राप्ती गाउँपालिकाले सिसहनिया स्वास्थ्य चौकी, बङ्गलाचुली गाउँपालिकाले हाँसिपुर स्युजा स्वास्थ्य चौकी र दङ्गीशरण गाउँपालिकाले हेकुली स्वास्थ्य चौकीमा क्वारेन्टाइन कक्ष स्थापना गर्ने भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *