कोरोनाविरुद्ध प्रदेश सरकारको रु ११ करोड ५० लाख बजेट

डाेटी । कोरोना भाइरसको रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारले रु ११ करोड ५० लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको आज मङ्गलबार बसेको आकस्मिक बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथाम, जोखिम न्यूनीकरणसहित उपचार गर्न र यहाँका तराईका जिल्लामा रहेका सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा रहेको आइसोलेसशन बेड निर्माणका लागि सो बजेट विनियोजन गर्ने निर्णय गरेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा कोरोनाको जोखिम न्यूनीकरणका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत उपमहानगरपालिकालाई रु पाँच लाख, नगरपालिकालाई रु चार लाख र गाउँपालिकालाई रु तीन लाख उपलब्ध गराउने निर्णयसमेत प्रदेश सरकारले गरेको छ । त्यस्तै बैठकले सुदूरपश्चिम प्रदेशका सीमामा रोकिएका नेपालीको लगत सङ्कलन गरेर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारलाई बुझाउने र क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । कोरोना भाइरसको विपद्लाई ध्यानमा राखी प्रदेश राहत कोष व्यवस्थापनमा मन्त्रीहरूले आफ्नो एक महिनाको पारिश्रमिक दिने निर्णय गरिएको पनि प्रमुख स्वकीय सचिव ओलीले जानकारी दिनुभयो ।

पत्रपत्रिका र पर्यटकीय क्षेत्र बन्द

सरकारले लक डाउन घोषणा गरेसँगै जिल्लाबाट प्रकाशन हुने दैनिक तथा साप्ताहिक पत्रपत्रिका बन्द भएका छन् । पत्रिका प्रकाशनमा कागजको अभाव र छापाखानाका कामदारसमेत क्वारेण्टाइनमा बस्नुपर्ने भएकाले महामारीको प्रभाव नरोकिँदासम्म पत्रपत्रिका बन्द गर्न आह्वान गरिएको नेपाल पत्रकार महासङ्घ डोटीका सचिव गणेश मौनीले जानकारी दिनुभयो । पत्रपत्रिकाको काम बन्द गरी घरमै क्वारेण्टाइनमा रहन र घरबाटै सामाजिक सञ्जाल तथा अनलाइनमार्फत समाचार सम्प्रेषण गर्न सचिव मौनीले सबै पत्रकारलाई अनुरोध गर्नुभएको छ । त्यस्तै रेडियोमा काम गर्नेले माइक्रोफोनमा बोल्दाखेरि मुखबाट निस्किएका थुकका छिटा माइक्रोफोनमा पर्ने र सोही माइक्रोफोन आफूतिर फर्काएर बोल्दा अन्तर्वार्ता लिने सञ्चारकर्मी पनि जोखिममा पर्न सक्ने भएकाले टेलिफोनबाटै सूचना लिएर समाचार सम्प्रेषण गर्न महासङ्घ डोटीले सबैमा अनुरोध गरेको छ ।

त्यसैगरी जिल्लामा रहेका प्रमुख पर्यटकीय क्षेत्र खप्तड, बडीमालिका, कडीकेदारथानलगायत क्षेत्रमा जानसमेत निषेध गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राखी आजदेखि सो पर्यटकीय क्षेत्रमा जान निषेध गरिएको खप्तड पर्यटन क्षेत्र विकास समितिले जनाएको छ । पछिल्लो समय खप्तडलगायत यहाँका प्रमुख पर्यटकीय स्थलहरुमा परिवारसहित जाने पर्यटकको संङ्ख्या बढ्न थालेपछि सम्भावित सङ्क्रमण रोक्न उक्त क्षेत्र जान निषेध गरिएको हो । केही समय पहिलेदेखि खप्तड क्षेत्रमा गएका पर्यटकलाई पनि लकडाउनको अवधिभरि खप्तडमै बस्न आग्रह गरिएको पर्यटन व्यवसायी तथा डोटी उद्योग बाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *