काेराेनाकाे त्रास बढिरहेका बेला नेकपाको तीनमहिने अभियान शुरु

दमाैली । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले तीनमहिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शनिबारदेखि शुरु गरेको छ ।

नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले अभियानको शुभारम्भ गर्दै दुई ठूला पार्टी मिलेर बनेको नेकपालाई बलियो पार्टीका रूपमा विकास गर्न अभियान सार्थक हुने बताउनुभयो । उहाँले जिल्लाका १० वटै स्थानीय तहमा सुदृढीकरण अभियानलाई प्रभावकारीरूपमा सञ्चालन गरिने जानकारी दिँदै भन्नुभयो, “साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएर पार्टी गठन भएको र यसलाई तल्लो तहसम्म पु¥याएर कार्यकर्ताबीच भावनात्मक सम्बन्ध कायम गर्न अभियानले सहयोग पुग्नेछ ।”

हाल विश्वभर फैलिएको कोरोना भाइरसको जोखिम रहेकाले अभियानकै क्रममा सो भाइरसविरुद्ध जनस्तरमा सचेतना कार्यक्रम पनि सञ्चालन हुने पार्टीले जनाएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एकबहादुर राना, आशा कोइरालालगायतले पार्टीको तल्लो तहसम्मका कार्यकर्तामा उत्साह भर्न र जनतासँगको सम्बन्धलाई सुमधुर बनाउन सुदृढीकरण अभियानलाई सार्थक तुल्याउनुपर्नेमा जोड दिनुभयो ।

अभियानअन्तर्गत जिल्लाका स्थानीय तहका ८५ वटामा कार्यक्रम सञ्चालन गरिने पार्टीका जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपानेले जानकारी दिनुभयो । उक्त अभियान जेठ मसान्तसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा वडास्तरसम्म भेला, बैठक, प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गरिनेछ । सुदृढीकरण अभियानका क्रममा पार्टी एकता तथा सरकारले गरेका राम्रा कामको प्रचार–प्रसारसमेत गराइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *