एक भए राप्रपा र राप्रपा (संयुक्त), कमल थापाले गीतामा हात राखेर खाए कसम

काठमाडाैँ ।  राप्रपा र राप्रपा (संयुक्त) बीच एकीकरण भएको छ । राष्ट्रिय सभागृहमा बुधबार आयोजित कार्यक्रममा दुई पार्टीबीच एकीकरणको घोषणा भएको हो । नयाँ पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ राखिएको छ । कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा (संयुक्त)का अध्यक्षद्वय पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनीबीच पार्टी एकतासम्बन्धी आधार पत्र आदान प्रदान गरेर पार्टी एक भएको घोषणा गर्नुभएकाे हाे ।

शनिबार एकीकरणसम्बन्धी १० बुँदे आधार पत्रमा तीन अध्यक्षले हस्ताक्षर गर्नुभएकाे थियाे । अब राप्रपामा ३ अध्यक्ष रहने छन्।

गीता हातमा लिएर कमल थापाले खाए कसम 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूले कहिल्यै पनि पार्टी नफुटाउने प्रतिवद्धता जनाउनुभएकाेक छ ।राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा कार्यक्रममा बुधबार उहाँले हिन्दू धार्मिक ग्रन्थ गीता हातमा लिएर पार्टी नफुटाउने प्रतिज्ञा गर्नुभएकाे हाे । ‘यो गीता हातमा राखेर कसम खान्छु राप्रपालाई फुट्न दिन्नँ’ उहाँले भन्नुभयाे ।

पार्टीका अन्य दुई अध्यक्ष पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पनि पार्टी नफुटाउने प्रतिज्ञा गरिसकेको भन्दै थापाले आफू पनि पार्टी नफुटाउने बताउनुभयाे ।

अध्यक्ष थापाले यसअघि पार्टी फुटेको तीता मिठा घटनालाई बिर्सने पनि बताउनुभयाे । ‘ विगतका तीता घटनाले पीडा भए पनि आगामी दिनमा कुनै पनि आग्रह पूर्वाग्रह साथीहरुका बीचमा राख्ने छैन’ उहाँले भन्नुभयाे । विगतमा पटक पटक फुटेका कारण कार्यकर्ता र शुभचिन्तकले फेरि फुट्दैन भन्नेमा विश्वास मान्न नसक्नु सामान्य भए पनि थापाले नकारात्मक सोच त्याग्न आग्रह गर्नुभयाे । थापाले कार्यकर्तालाई पनि व्यक्तिको पछाडि लाग्न छाडेर विचारको पछाडि लाग्न आग्रह गर्नुभयाे।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *