यूएई र अस्ट्रेलियामा नेपाली नागरिकमा काेराेना सङ्क्रमण देखियो, के गर्दैछन् दूतावास

बीबीसी । संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत दुई नेपालीमा नयाँ कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएपछि त्यहाँ स्थित नेपाली राजदूतवासले उनीहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताएको छ। अस्ट्रेलियामा पनि एक नेपाली विद्यार्थी सङ्क्रमित भएका र उनको स्थिति सामान्य रहेको बताइएको छ।

यूएईको स्वास्थ्य मन्त्रालयले थप १४ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गर्दै तीमध्ये दुई जना नेपाली भएको सोमवार साँझ जनाएको थियो। उक्त सूचना आएपछि सङ्क्रमित नेपाली नागरिकबारे चासो राखेर उनीहरूको पहिचान गर्ने र सम्पर्कमा पुग्ने प्रयास गरिएको राजदूत कृष्णप्रसाद ढकालले बताएकाे बीबीसीले समाचारमा उल्लेख गरेकाे छ ।

उनले भने, “दुईजना नेपाली सङ्क्रमित भएको भन्ने सूचना जारी भयो। हिजो होली भएकाले हाम्रो दूतावास पनि बन्द थियो। सूचना जारी हुँदा यहाँका कार्यालयहरू पनि बन्द भइसकेका थिए।” “तर त्यसपछि हामीले चासो राखेर ती नेपाली को हुन् भन्ने जानकारी लिन खोजिरहेका छौँ। आज कार्यालय सुरु भएपछि त्यसबारे जानकारी हुनेछ। हामी थप जानकारी लिने र केही सहयोग गर्न सकिने भए सहयोग गर्ने भन्ने तयारीमा छौँ,” ढकालले भने।

अन्य नेपालीलाई सतर्क हुन आह्वान

राजदूत ढकालले यूएईमा कोरोनाभाइरस सङ्क्रमण फैलिन थालेपछि नेपालीहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिए। कामदारका रूपमा यूएईसहित विभिन्न अरब देशमा गएका नेपाली कामदारहरू ठूलो सङ्ख्यामा एउटै कोठामा बस्ने गरेका छन्।

त्यसैले उनीहरूमा सङ्क्रमण फैलिन सक्ने जोखिममा भएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। सबैले बुझून् भनेर नेपाली भाषामा नेपालीहरू सम्बद्ध सङ्घसंस्थामार्फत् चेतनामूलक जानकारी दिइएको राजदूत ढकालले बताए।

नेपाली दूतावासले कोरोनाभाइरसको लक्षण देखिएमा तत्कालै यूएईस्थित त्यहाँको स्वास्थ्य मन्त्रालयका विभिन्न निकाय वा नेपाली दूतावासमा सम्पर्क गर्न सूचना जारी गरेको छ। राजदूत ढकालका अनुसार हाल यूएईमा दुई लाख ७५ हजारभन्दा बढी नेपाली कामदार कार्यरत छन्। उनले भने, “हामीले आवश्यक सूचना प्रवाह गर्नुका साथै चाहिनेभन्दा बढी त्रास पनि सिर्जना नहोस् भनेर सतर्क रहेका छौँ। आवश्यक सहयोगको अपील पनि गरेका छौँ।”

अस्ट्रेलियाको दूतावास सङ्क्रमित नेपालीको सम्पर्कमा

अस्ट्रेलियामा पनि एक नेपालीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ। ती व्यक्तिसँग आफू नियमित सम्पर्कमा रहेको र उनको स्वास्थ्य सामान्य रहेको अस्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ। दूतावासकी कन्सुलर दुरपदा सापकोटाले भनिन्, “तास्मानियाको होबर्टमा एक नेपाली विद्यार्थीमा सङ्क्रमण भेटिएको हो। उनीसँग हामी नियमित सम्पर्कमा छौँ।” “हिजो मात्रै पनि मेरो उनीसँग कुराकानी भएको थियो।” ती नेपाली युवकलाई स्थानीय अस्पतालमा आइसोलेशन वार्डमा राखेर उपचार भइरहेको उनले बताइन्।

उनले भनिन्, “हामीले सहयोगको आवश्यक परे सम्पर्क गर्न भनेका छौँ। उनले हाल आफ्नो अवस्था सामान्य रहेको जानकारी गराएका छन्। हाम्रो अस्पतालसँग पनि कुराकानी भयो। अस्पतालले पनि उनको अवस्था सामान्य रहेको जानकारी दिएको छ।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *