३८ औँ मगर स्थापना दिवस मनाइँदै

काठमाडौँ । आज फागुन १५ अर्थात, ३८ औ मगर स्थापना दिवस । बिभिन्न कार्यक्रमको आयोजना गरी मगर स्थापना दिवस देशैभर मनाईदै छ । वि.सं २०३९ साल फागनु १५ गते स्वर्गीय हेम बहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार संघको प्रथम अधिबेशन भएको थियो । यसैको संझनामा मगर संघ र यससँग सम्वन्धित संघ संस्थाहरुले स्थापना दिवसको रुपमा मगर दिवस मनाउन लागेका हुन् ।

मगर स्थापना दिवसका अवसरमा, मगर बाहुल्य रहेका बिभिन्न नगरपालिका र गाउँपालिकाहरुले आज स्थानीय बिदा दिएका छन् । मगरका भाषा, संस्कृतिको रक्षा र अधिकार प्राप्तीका लागि स्थापना भएको लाङ्घाली परिवारसंघ पछि नेपाल मगर संघमा परिवर्तन भएको मगर संघका संस्थापक महासचिब सुरेश आले मगरले जानकारी दिनुभयो ।

मगर स्थापना दिवसको अवसरमा मगर संघको केन्द्रिय समितिले आज संघका सँस्थापक तथा मगर अग्रज नेताहरुलाई मगर गौरब पदकबाट सम्मान गर्ने कार्यक्रम राखेको छ । संघका केन्द्रिय अध्यक्ष नबिन रोकामगरका अनुसार प्रज्ञाभवन कमलादी काठमाण्डौंमा दिउँसो गृहमन्त्री राम बहादुर थापाको उपश्थितिमा हुने मगर स्थापना दिवसका अवसरका संघका संस्थापक तथा मगर अग्रजहरुलाई सम्मान गर्न लागिएको हो । २०१२ सालमै मगर समाज सुधार समितिको नाउँमा गुल्मीको भार्सेमा मगरहरुको पहिलो संगठन बनेको भनिएपनि मगर संघले २०३९ साल फागुन १५ लाई नै संघको स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

पाल्पाका ७ पालिकाद्धारा सार्वजनिक बिदा

मगर स्थापना दिवसका अवसरमा पाल्पाका ७ स्थानीय तहले सार्वजनिक विदा दिएका छन् । रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्बखोला गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउँ गाउँपालिका, बगनासकाली गाउँपालिका र रैनादेबी छहरा गाउँपालिकाले ३८ औ मगर स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिएका हुन् । १० स्थानीयय तह रहेका पाल्पामा ५२ प्रतिशत भन्दा धेरै मगरहरुको बसोबास छ । मगरको धेरै बसोबास रहेको सदरमुकाम तानसेन नगरपालिकाले भने बिदा दिएको छैन । रम्भा गाउँपालिका र रिब्दीकोट गाउँपालिकाले पनि दिवसका अवसरमा बिदा नभएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *