भाेजपुरे युवाकाे उदाहरणीय इलम, यसरी गाउँमै कमाउँछन् लाखाैँ रूपैयाँ

युवराज विष्ट
भोजपुर । राम्रो कमाईको मीठो सपना बोकेर आमचोक गाउँपालिका–९ दुम्माना आमबोटका रोशन मगरले वैदेशिक रोजगारीका लागि २०७१ सालतिर कतार पुग्नुभयो । उहाँले त्यहाँ मार्बल बनाउने काम गर्नुभयो । उहाँको काम धेरै गाह्रो थियो । काम गाह्रो र त्यसमा श्रम अनुसारको कमाई नभएपछि २ वर्ष बित्न नपाउँदै उहाँ घर फर्कनुभयो । विदेशबाट फर्केर उहाँले आफ्नै गाउँमा खेतीपाती र कुखुरापालन व्यवसाय शुरु गर्नुभयो ।

कृषि र पशुपालनलाई व्यावसायिकीकरण गर्न तम्सिनुभएका मगर अहिले त्यही व्यवसायमा उदाहरणीय युवा बन्न सफल हुनुभएको छ । गिरीराज जातका ३५० वटा कुखुराबाट सञ्चालन गर्नुभएको कुखुरा फार्मले उहाँलाई मनग्य आम्दानी दिएको छ । उहाँले ती फार्मबाट निस्किएको मलको सदुपयोग गर्न ३६ रोपनी जग्गा भाडामा लिएर आलु, प्याज, खुर्सानी जस्ता तरकारीबाली पनि लगाउनु भएको छ । अहिले उहाँले मासिक ४० हजारसम्म आम्दानी गर्नुहुन्छ ।

कृषिसम्बन्धी तालीम लिनुभएका मगरले कुखुराका लागि चाहिने सम्पूर्ण भ्याक्सिन लगाउने, कुखुराको चल्ला उत्पादन गर्ने, बीउबिजन उत्पादनसमेत आफैँले गर्दै आएका छन् । उत्पादन गरेको तरकारी र कुखुराले सिङ्गो गाउँपालिका क्षेत्रका बजार धानिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामी युवा ठूलो सपना बोकेर विदेश जान्छौँ, तर त्यहाँको दुःखको विषयमा पुगेपछि मात्र थाहा हुन्छ, मैले पनि धेरै दुःख भोगे तर अहिले आफ्नै ठाउँमा राम्रो आम्दानी गरिरहेको छु ।”

स्वदेशमै व्यवसाय गरेर राम्रो आम्दानीको स्रोत बनाउनुभएका उहाँले गाउँका अन्य कृषकलाई पनि उत्पे्ररित गर्नुभएको छ । विदेशमा गर्ने मिहिनेत आफ्नै ठाउँमा गरे भिरपाखामा पनि सुन फलाउन सकिने उहाँको भनाइ छ । “हाम्रै ठाउँमा राम्रो आम्दानी गर्न सकिन्छ, भिरपाखा नै मिहिनेत गरे विदेश जानु पर्दैन, अहिले मैले व्यवसाय गरेको देखेर धेरै युवा साथीहरुले फर्म दर्ता गरेर काम शुरु गर्ने सोचमा हुनुहुन्छ”, मगरले भन्नुभयो ।

मगरले गाउँका अन्य किसानलाई कुखुरापालनसम्बन्धी तालीम र काम पनि सिकाउँदै आउनुभएको छ । आफ्नो टोललाई नै कृषिको नमूना क्षेत्र बनाउने लक्ष्यले काम गरिरहेको भए पनि राज्य तथा सरोकारवाला सरकारी निकायले सहयोग नगरेको उहाँको गुनासो छ ।

त्यस्तै व्यावसायिक तरकारी खेतीमा लागेर भोजपुर नगरपालिका–७ का जीतकुमार राईले पनि निकै राम्रो आम्दानी गरिहनुभएको छ । वैदेशिक रोजगारीका लागि साढे ५ वर्ष कतारमा बिताएका राई अहिले आफ्नै ठाउँमा व्यवसायमा लागेर सबैका बीच उदाहरणीय बनेको छ ।

कतारमा कडा परिश्रम गरेर पनि राम्रो आम्दानी गर्न नसकेको वताउने राईले अहिले भने तरकारी खेतीबाट वार्षिक रु ६ देखि सात लाखसम्म आम्दानी लिने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कतारको तातो घाममा करीब ६ वर्ष बिताए तर खास कमाउन सकिनँ, अहिले यही तरकारी खेतीमा लागेर वार्षिक रु सात लाखसम्म आम्दानी गरिहेको छु ।”

राईले आफ्नो पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती गरिरहनु भएको छ । उहाँले सिजनअनुसार काउली, बन्दा, टमाटर, खुर्सानी, साग, सिमीलगायतको खेती गरिरहनुभएको छ । तर बजारको राम्रो व्यवस्था नहुँदा भने बिक्री वितरणमा समस्या हुने गरेको उहाँको दुःखेसो छ । राईले भन्नुभयोे, “बजारको राम्रो व्यवस्था नहँुँदा भने निकै समस्या छ, हाम्रो बजारको माग करीब २०० किलो छ, मैले बढी उत्पादन गर्दा बिक्री वितरणमा भने समस्या हुन्छ, बजारको व्यवस्थामा सरकारले ध्यान दिए, म जस्ता कृषकलाई सहज हुने थियो ।”

जिल्लामा पछिल्लो समय वैदेशिक रोजगारी गएर आएपछि धेरै युवाले यस्ता खालको पेशा अँगाल्ने गरेका छन् र उनीहरुले राम्रै आम्दानी पनि गरिरहेका छन् । तर प्राविधिक ज्ञान, राम्रो बीउबिजन नपाउँदा भने निकै समस्या हुने गरेको उनीहरुको कथन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *