यी चार ठाउँमा राखिँदैछ चीनबाट ल्याइने नेपालीहरूलाई

काठमाडाैँ । नोवेल कोरोना भाइरसको संक्रमण भएको चीनको वुहानबाट उद्दार गरेर नेपाल ल्याइने विद्यार्थी र नागरिकका लागि सरकारले शिवपरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीमा गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गर्ने भएको छ । तर उनीहरूलाइ  नेपाल ल्याउन अझै एक हप्ता लाग्ने भएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उपप्रधानमन्त्री, मन्त्री, सचिव एवं सुरक्षा निकायका प्रमुखसहितको बैठकमा विद्यार्थी ल्याएर राख्ने स्थानमा भौतिक पूर्वाधारहरु तयार गर्न एक साता लाग्ने ब्रिफिङ भएको हो ।

बैठकमा प्रधानमन्त्रीले चीनबाट आउन चाहनेलाई ल्याउन र ती चार स्थानमा राख्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयाे । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि १८० नेपाली विद्यार्थीले स्वदेश फर्किन चीनस्थित नेपाली दूतावासमा निवेदन दिइसकेका छन् । उनीहरुले आफ्नो उद्दार नगरेकोमा सरकारको आलोचना गरिरहेका छन् ।

तर सरकारले भने स्वदेश फर्काएपछि राख्ने ठाउँ तयार नभइसकेको भन्दै ढिलाइ गर्दै आएको थियो । नोवल कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गरी नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति समग्र तयारीमा जुट्न सम्वद्ध मन्त्रालय र निकायहरूलाई प्रधानमन्त्रीले निर्देशन दिएको थापाले बताउनुभयाे ।

यसैबीच नेपालले १ लाख संख्यामा प्रोटेक्टिभ माक्स चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *