एक दिन छाउगाेठमा बसेर देखाउन सांसद पालकाे चुनाैति

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले समसायिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद निरु देवी पालले सुदुरपश्चिम र मध्यपश्चिमका छाउगोठ भत्काउने काम भएको भन्दै गृहमन्त्रालयलाई धन्यवाद दिदै छाउगोठ भत्काएकोमा विरोध गर्नेलाई एकदिन मात्रै छाउगोठमा बसेर देखाउन चुनौति दिनुभयो । उहाँले भन्नुभयो “डलर खेती गर्नेहरुको टाउको दुखाई गर्नु स्वभाविक हो किन भने घरहरु देखाएर आयस्रोत बटुल्ने प्रयास थियो । अरुको टाउको दुखाई हुनु पर्नुको कारण मैले बुझ्न सकेकी छैन । त्यस्तो टाउको दुखाई हुनुपर्ने दाजुभाई हुनुुहन्छ भने कम्तिमा पनि एक दिन मात्रै बसेर देखाईदिनुहुन अनुरोध गर्दछु । सुुदुरपश्चिमेली कर्णालीका हरुले टाउको उठाईरहेका बेला किन यो विषय आएको हो ? म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।”

सांसद पालका अनुसार गृहमन्त्रालयले सोमबार सम्म सुदुरपश्चिम र मध्यपश्चिमका १२ जिल्लाका ८ हजार ७ सय छाउगोठ भत्काइएको छ ।

केही अघि प्रतिनिधिसभाको बैठकमा जुम्लाका सांसद गजेन्द्र महतले छाउगोठ भत्काउने गृहमन्त्रालयको कार्यको विरोध गर्नुभएको थियो ।

त्यसैगरी सांसद डिला संग्रौलाले नेपालका मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्ने सहमति भएपनि कार्यान्वयन नहुन नसकेको भन्दै सो को बारे यथार्थ जानकारी सदनलाई गराउन माग गर्नुभयो । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त डाक्टर कृष्ण गिरीको योग्यताको विषयमा प्रश्न उठेको भन्दै सत्य तथ्य छानविन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

दिलेन्द्र प्रसाद बडूले कोरना भाईरसको महामारी रोकथामबारे नेपाल सरकारको योजना के छ भनी प्रश्न गर्नुभयो । उहाँले चीनमा रहेका नेपालीको संख्या, अवस्था र उद्धारका लागि भईरहको प्रयास र सो रोगको भरपर्दो र सुरक्षित उपचारको व्यवस्था गर्न सक्ने तयारी के छ सो बारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

दिव्यमणि राजभण्डारीले विश्वभर नै नकारात्मक रुपमा कोरना भाईरसका बारेमा नकारात्म संदेश फैलिरहेको भन्दै नेपाल सरकारलाई सच्चाई ढंगले चीनलाई सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

दुर्गा पौडेलले उखु किसानका लागि उखुको समर्थन मुल्य नै उपलब्ध गराउने र सरकारले दिएको अनुदानको रकम पुरै उनीहरुले पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

देव प्रसाद तिमिल्सिनाले उखु किसानले उखु बेच्न नपाउने र बेचेपछि पनि पैसा नपाउने समस्या सदनमा पटक पटक उठाउँदा त्यसको सरकारले सुनुवाई नगरेको भन्दै त्यस तर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो “के को लागि सरकार ? किसानको उखुको भुक्तानी दिन नसक्ने दुई तिहाईको सरकारले जनतालाई के दिन सक्छ ? के को लागि सरकार ?”उहाँले सितलहरका कारण रौतहटमा ठूलो जनधनको क्षति भएको भन्दै त्यस तर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

देवेन्द्र प्रसाद पौडेलले एनसेल कर लाभांस विवाद, हायात होटल, ललिता निवास, यति होल्डिङ जस्ता प्रकरणहरु दिनहुँ मिडियामा छाउने गरेको भन्दै यी विषयमा छानविन गरि सर्वसाधरणलाई यथार्थ जानकारी गराउन सरकारकोे ध्यानाकर्षण गराउनुभयो ।

नारायण प्रसाद खतिवडाले भ्रमणबर्ष मनाउदै गर्दा काठमाण्डौसंग जोडिएको नुवाकोट सम्म पुग्ने पासाङ ल्हामू राजमार्ग र टोखा छहरे सडककोे अवस्था बिग्रेको भन्दै समयमै सडकसुधार र पुर्ननिर्माणमा ध्यान दिनुको साथै टेण्डर भईसकेपछि निर्माण व्यवसायीले काम नगर्ने समस्याको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *